इटहरी/ गत असार १० गते इटहरी सरकारले सार्वजनिक गरेको १ अर्ब ३७ करोड बढीको बजेटमा जनस्तर र जनप्रतिनिधिबाट मिश्रित प्रतिक्रिया आएको छ ।

रात्रिबजार, हरियाली पार्क, सार्वजनिक शौचालय र ग्रिन सिटीको क्षेत्रमा राम्रो काम भएको भन्दै स्थानीयमा उत्साह छाएको छ । व्यापारीहरूले रात्रिबजार, युवाहरूले सिटी पार्क, सर्वसाधारणले बजार क्षेत्रमा सार्वजनिक शौचालय र वातावरणकर्मीले ग्रिन सिटीको लागि बिरुवा रोप्न कामको प्रशंसा गरेका छन् ।

बजेटको बारेमा सकरात्मक आशा मात्रै होइन निराशा पनि भेटिएको छ । अरु त अरु बजेट सार्वजनिक भएकै दिन बजेटको अनुसूची बाँड्नासाथ वडाध्यक्षहरूमा निराशा देखिएको थियो । जनतासँग प्रत्यक्ष सम्पर्क र समन्वयमा रहने वडाध्यक्ष तथा वडा सदस्यहरू नै बजेट, नीति तथा कार्यक्रमप्रति सन्तुष्ट देखिएनन् । बजेट भाषणको तयारी भरिरहँदा वडाध्यक्षहरू निराश र मलिन देखिएका थिए । कोही भने आक्रोशित मुद्रामा सभाहलमा हल्ला गरिरहेका थिए ।

उपमेयर लक्ष्मी गौतमले बजेट भाषण सक्नासाथ इटहरी १० का वडाध्यक्ष प्रकाश चौधरीले बजेटको अनुसूची नै च्याते । अरू वडामा भन्दा आफ्नो वडामा कम बजेट गएको भन्दै उनले बजेटप्रति असन्तुष्टि देखाए । त्यस्तै वडा नं ९ का वडाध्यक्ष भुपेन्द्र बराल पनि बजेटप्रति असन्तुष्ट नै छन् । हाल उनी यस विषयमा कुनै प्रतिक्रिया जनाउन चाहँदैनन् ।

वडा नं ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई र वडा नं ६ का वडाध्यक्ष दीपक गौतमले जेठ १४ गतेको कार्यपालिका बैठकमै बजेटको शैलीप्रति असन्तुष्टि औँल्याए । बजेट घाटाको नभई घाटा बजेट भनेर प्रचार गरिएको प्रति उनीहरूले आक्रोश पोखे ।

यति मात्र होइन नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले पनि बजेट आशलाग्दो नभएको स्टाटस फेसबुकमा पोस्ट गरे । उनले ‘इटहरी उपमहानगरपालिकाको आव २०७५÷७६ बजेट सुन्ने निमन्त्रणा पाएर जुन उत्साहका साथ हलमा पुगेको थिएँ तर फर्कँदा शिथिल भएर आएँ’ भनेर स्टाटस हाल्न भ्याए । त्यसैमा उनले बजेट परम्परागत भएको र कुनै आधुनिकता र वैज्ञानिक नभएको तर्क गरेका छन् । कुखुरालाई चारो हाल्ने शैलीको बजेट भएको भन्दै उनले इटहरीको पहिचान र दूरगामी गौरवको परियोजना नहुनु दुःखद भएको कमेन्ट गरेका छन् । रात्रिकालीन बजारको भने उनले खुलेरै प्रशंसा गरेका छन् ।

कतिपयलाई बजेट आएको, नआएको भन्ने नै पत्तो छैन । इटहरीको विकास र परिवर्तनसँग जोडिएको स्थानीय सरकारको दोस्रो बजेटको विषयमा अर्थराजनैतिक विश्लेषक मोहन तिम्सिना अनभिज्ञता प्रस्तुत गर्छन् ।

त्यस्तै, अनेरास्ववियु सुनसरीका अध्यक्ष जीबी गजल पनि बजेट खासै आशलाग्दो नभएको तर्क गर्छन् । बजेटले स्थानीय सरकारको प्रत्याभूति दिलाउन नसक्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य संघ इटहरीका महासचिव टंक खनाल बजेटले स्थानीय व्यापारी तथा व्यवसायीलाई कुनै उत्साह प्रदान नगरेको बताउँछन् । घर बहाल करको विषयमा पनि बजेट अस्पष्ट भएको र दोहोरो कर प्रणाली बजेटले अवलम्बन गरेका कारण समस्या परेको उनको भनाइ छ । रात्रिकालीन बजारले केही राहत पुगे पनि त्यसको कार्यान्वयन पक्ष हेर्न बाँकी रहेको उनको भनाइ छ ।