इटहरीः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी र होटल व्यवसायी संघ इटहरीको संयुत्त टोलीले इटहरीका १० होटलको गुणस्तर निरिक्षण गर्दा दुई वटा होटलले अतिउत्तमको स्टिकर पाएका छन् ।
खाद्य प्रविधि नियमावली २०७४ अनुसार स्वच्छताको आधारमा होटलहरुको वर्गिकरण समेत हुने गरी खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयले बर्षेनी खाजा खाना ख्वाउने होटल तथा रेष्टुरेन्टको अनुगमन गर्ने गरेको छ ।
बिहिबार गरिएको अनुगमनमा होटल व्यावसायी संघ इटहरी र खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको सयुक्त टोलीले दश वटा होटलको निरिक्षण गरेको छ भने केही होटलको निरिक्षण शुक्रबार पनि गरिने बताइएको छ । इटहरी उपमहानगरपालिका भित्रका दश वटा होटलको अनुगमन गर्दा दुई वटाले मात्रै ग्रीन स्टिकर अर्थात तीन तारा सहित अतिउत्तम होटलको प्रमाण पत्र पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका अनुगमन अधिकृत काशिनाथ घिमिरेले बताए ।

270413654_359502122181709_4920834608322128022_n
घिमिरेका अनुसार हरेक बर्ष गरिने नियमित अनुगमनमा गत बर्ष इटहरी उपमहानगरपालिका भित्रका ४० वटा होटल तथा लजको निरिक्षण गरी स्टिकर र प्रमाणपत्र प्रदान गरिएको र यस बर्ष पनि ती होटल तथा लज र नयाँ थपिएकाहरुको पनि निरिक्षण गरिने छ । ग्राहकलाई होटलमा छिर्नासाथ कुन स्तरको होटल हो, भन्ने जानकारी हुने गरी स्टिकर राखिने र हरियो कलरको स्टिकर भएको होटल राम्रो गुणस्तर भएको होटलमा पर्ने घिमिरेले बताए ।
बिहिबार गरिएको अनुगमनमा क्रममा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालिटी प्रालिद्धारा सञ्चालित बरण्डा होटल र इहटरी ६ मा रहेको गोरखा होटलले तीन तारा सहितको अतिउत्तम दर्जाको स्टिकर पाएका छन् । वरण्डा होटलले गत बर्षको अनुगमनमा पनि हरियो कलरको स्टिकर पाएको थियो भने गोरखा होटल गत बर्ष उत्तम अर्थात ख बर्गमा थियो भने यसपालि स्तर उन्नती सहित क बर्गमा परेको छ ।

270865400_655779355767409_1420422466299057522_n
यसपालिको अनुगमनमा ख बर्गको स्टिकर पाउनेमा पुर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सप, रोषमेरी होटल, मेट्रो फुड् र गोरखा किचन एण्ड होटल प्रालि रहेका छन् । यसैगरी ग बर्गको स्टिकर पाउनेमा प्रिमियर होटल एण्ड लज, खोटाङ्ग होटल एण्ड लज र फलाँटे होटल रहेका छन् भने घ बर्गको स्टिकर पाउनेमा अकबरे होटल रहेको छ ।
आफुहरुले स्तर निर्धारण गर्दा खानाको गुणस्तर, किचन र बाहिरी क्षेत्रको सरसफाई, होटलमा काम गर्ने स्टाफको हाइजिन अर्थात स्वास्थ्य परिक्षण लगायतका ५० वटा सुचकहरुको आधारमा गर्ने गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यलय सुनसरीका अनुगमन अधिकृत घिमिरेले बताए । हरेक सुचकमा २ मार्क हुने र ९० भन्दा बढि मार्क ल्याउने होटल तथा लजलाई क बर्गको स्टिकर अर्थात अतिउत्तम, ८० देखि ८९ सम्मको मार्क ल्याउने होटल तथा लजलाई ख बर्ग अर्थात उत्तम र ६५ देखि ७९ सम्म ग बर्ग अर्थात सन्तोषजनक र ५० अँक देखि ६५ अंक सम्म आए घ बर्ग अर्थात सामान्य मा बर्गिकरण गरी स्टिकर वितरण गरिने बताइएको छ । अनुगमनका क्रममा ५० अंक भन्दा कम मार्क आए त्यस्ता होटल तथा लजलाई सुधार गर्न निर्देशन दिने र पुन अनुगमन गरिने अनुगमन अधिकृत घिमिरे बताउँछन् ।

271444210_1290870868092027_5011677117472724934_n
होटल व्यावसायी संघ इटहरीकी उपाध्यक्ष पुनम थापा मगरका अनुसार होटलहरुलाई गुणस्तरमा ध्यान दिउँन र ग्राहकले शुद्ध खाना खान पाउन भन्ने हेतुले बर्षेनी यस्तो अनुगमन गरिँदै आएको छ ।
हरेक बर्ष अनुगमन गरिने हुनाले स्तर माथि जान पनि सक्ने र सरसफाई र खाद्य गुणस्तरमा ध्यान नदिए स्तर तल झर्न पनि सक्ने छ । होटलहरुलाई नियमन भन्दा पनि व्यावसाय प्रर्वद्धनका हिसावले अनुगमन गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयको भनाई छ ।