इहटरीः देशभरीको तथ्यांक हेर्दा सुनसरी जिल्लाको मालपोत कार्यालय इनरुवा जग्गा कारोबारमा एक नम्बरमा परेको छ ।
पुस महिनामा मात्रै मालपोत कार्यलय इनरुवाबाट ३ हजार २ सय ५० वटा कारोबारका लिखत पारित भएका छन् । प्रदेश एक तथा पुर्वी नेपालको सबैभन्दा बढि जग्गा कारोबार हुने मालपोत कार्यालयमा दरिने मालपोत कार्यलय इनरुवाबाट देशभरीकै सबैभन्दा बढि लिखत पारित भएको देखिन्छ । इनरुवालाई पछ्याउँदै मालपोत कार्यलय बेलबारीले पुस महिनामा ३ हजार ५९ वटा लिखत पारित गरेको छ ।
झापाको भद्रपुर मालपोतमा २७५५, बाँकेको नेपालगञ्जमा २४११, धनुषाको जनकपुर मालपोत कार्यालयले २२७६ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले जनाउँछ ।
जनकपुर पछि भक्तपुर मालपोतमा २०८५, लगनखेलमा १९६५, काभ्रेमा १७६१ र कलंकी मालपोतमा १६९९ लिखत पारित भएका छ भने चितवनमा १६७४, मकवानपुरमा १६६६, कलैयामा १४६३, विराटनगरमा १४५६ र दमक मालपोतबाट १४३४ लिखत पारित भएका छन् ।
कम लिखत पारित हुनेमा प्रदेश एकका मालपोत कार्यालय खोटाङ्ग बजार ५१, मालपोत कार्यालय खिजिफलाँटे ३७, मालपोत कार्यालय सक्रान्ति बजार, ४३, मालपोत कार्यलय तेह्रथुम ७६ र मालपोत कार्यालय इलाम ६८ छन् । पुर्वका यी मालपोतमा एक सय भन्दा कम लिखत पारित भएको देखिएको छ ।
पुस महिनामा देशभरका मालपोत कार्यालयमा ७० हजार १६८ लिखत पारित भएका तथ्यांक बताउँछ ।
कात्तिकको तुलनामा मंसिरमा लिखत पारित १९ हजार ३२९ ले बढेको थियो। कात्तिकमा ५० हजार ८३ रहेको लिखत पारित मंसिरमा ६९ हजार ४१२ पुगेको थियो।
मंसिरमा सबैभन्दा धेरै लिखत पारित मोरङको बेलवारी मालपोत कार्यालयले गरेको थियो। बेलवारीले मंसिरमा ३०८७ लिखत पारित गरेको थियो। बेलवारी पछि इनरुवाले ३०४१ लिखत पारित गरेको देखिएको थियो तर पुस महिनामा बेलबारीलाई इनरुवाले जितेको छ ।
पुसमा महिनामा मालपोत कार्यालय इनरुवाले १२३२ वटा जग्गा रोक्का गरेको छ भने ९ सय ७० वटा जग्गा फुकुवा गरेको छ । बढि जग्गा रोक्का र फुकुवा गर्नेमा प्रदेशका मालपोत कार्यलय भद्रपुर, बेलकारी र इनरुवा छन् ।
एक महिनामा ६ अर्ब ७० करोड राजस्व
तरलता अभावकाबीच पुसमा भने घरजग्गाबाट राज्यले गर्ने आम्दानी घटेको छ। गत कात्तिकमा ओरालो लागेको घरजग्गा कारोबार मंसिरमा उकालो लागेको थियो। मंसिरमा घरजग्गा कारोबारबाट राज्यले सात अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपेयाँमा ओर्लिएको भूमि व्यवस्थापन विभागले जनाएको छ।
पुस महिनामा प्रदेश एकका विराटनगर, इनरुवा मालपोतले १० करोड माथि राजस्व उठाएको विभागको तथ्याँकले देखाउँदछ । प्रदेश एकको सबैभन्दा थोरै राजश्व उठाउनेमा मालपोत कार्यालय खोटाङ्ग बजारले समेत पुस महिनामा २ लाख ४२ हजार ७ सय ७७ रुपैया राजश्व उठाएको छ ।