इटहरी :नेपालमा प्रतिवन्धित क्रिप्टो करेन्सिको कारोबार गरेको भन्दै प्रहरीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बस्ने विशाल श्रेष्ठ सहित ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीको अपराध महाशाखा अन्तरगतको टोलिले श्रेष्ठ सहितको टोलिलाई पक्राउ गरेको हो ।
महाशाखाबाट बिशेष टोली परिचालन गरिएको र बिहिबार गते दिउसो काठमाण्डौको मिनभवनबाट पर्वतको फलेबाँसका २१ बर्षिय राजन भट्टराई, इटहरीका बिशाल श्रेष्ठ र काठमाण्डौका दिपेनराज श्रेष्ठलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग २ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिएको प्रहरीको भनाई छ ।
नेपाल राष्ट्र बैँकले क्रिप्टो करेन्सि गैह्र कानुनी हो भनिसकेको हुनाले यस्तो कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने अपराध महाशाखाले बताएको छ ।

















