इटहरीः मोरङमा अवैध रूपमा उत्खनन गरेको भन्दै एक स्काभेटर र चालकलाई पहिलो पटक मुद्दा दायर गरिएको छ । केराबारी– ८ का भुवन खड्काको स्काभेटरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
सो स्काभेटरका चालक मोरङको पथरी निवासी सन्तोष गिरीलाई केराबारी गाउँपालिकाले ठेक्का दिएको खेला क्षेत्रमा नभई स्थानीयको खेततर्फ खोलाजन्य पदार्थ उत्खनन गर्दै गर्दा पक्राउ गरिएको थियो । स्काभेटर र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको बताइएको छ ।
सो स्काभेटरले वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) समेत नभएको ठाउँबाट र निषेधित क्षेत्रबाट हरेक दिन खोलाजन्य पदार्थ चोरी गर्ने गरेको थियो । जथाभावी गिटी र बालुवा निकाल्दा वातावरणीय पर्यावरणमा असर पुग्ने भएता पनि क्रसर व्यवसायीले मनोमानी गर्दै आएको स्थानीय लालबहादुर गुरुङले बताए ।
उनले आफ्नोसहित छिमेकी हरि गुरुङ, रुद्र सापकोटा र गणेश थापाको नम्बरी कित्ता खन्न थालेपछि स्थानीय आक्रोशित बनी उत्खनन गर्ने व्यवसायीलाई लखेटेको बताएका थिए ।
घटनाको सम्बन्धमा जानकारी लिँदा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पक्राउ परेको स्काभेटरलाई मुलुकी फौजदारी संहिता २०७५ को दफा १४९ अनुसार कारबाही गरिने जानकारी दिए ।
खदम खोलाको रोग लोहन्द्रातिर
स्थानीयवासीले खदम खोलाको रोग लोहन्द्रातिर सरेको बताएका छन् । केराबारी गाउँपालिकाले चुरे क्षेत्र, नम्बरी क्षेत्र, वन क्षेत्र र उत्खनन् गर्न हुने क्षेत्रको छिनोफानो नै नगरी एकमुष्ट रूपमा उत्खनन् अनुमति दिएकोमा स्थानीय आक्रोशित बनेका छन् ।