इटहरीः इटहरीमा घर जग्गाको भाउ आकाशिएसँगै यहाँको जनसंख्या पनि तिव्र गतिमै आकाशीएको पाइएको छ । हरेक दश बर्षमा गरिने जनगणनालाई आधार मान्ने हो भने इटहरीको जनसंख्या गत १० बर्षको भन्दा अहिले १ लाख ४० हजार ५ सय १७ ले बढि भएको छ । सो जनसंख्या २०५८ सालको जनगणनामा ४१ हजार २ सय १० ले बढेको थियो ।
प्रदेश एककै अत्याधिक जनघनत्व रहेको इटहरी उपमहानगरपालिकामा पहाडी जिल्लाबाट बसाईसरि आउने मान्छेको चाँपसँगै यहाँको जनसंख्या तिव्र गतिमा बढेको हो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ । तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ ।
सुनसरी जिल्लाको कुल जनसंख्या ९ लाख ३४ हजार ४ सय ६१ छ भने त्यसमा झण्डै २ लाख इटहरीले लिएको छ । सुनसरी जिल्ला देशकै धेरै जनसंख्या हुने जिल्लामा पाचौँ नम्बरमा देखिएको छ । सुनसरी जिल्लाको जनसंख्या गत दश बर्ष पहिले ७ लाख ६३ हजार ४ सय ८७ थियो बार्षिक वृद्धिदर हेर्ने हो भने सुनसरी जिल्लाको जनसंख्या १ दशमलव ९४ प्रतिशतले बढेको देखिएको छ । जनसंख्यामा अहिले देखिएको वृद्धिदर जन्मदरले भने होइन् । जन्मदर कम देखिन्छ भने पहाडी जिल्लाबाट बसाईसराई गरेर सुनसरी जिल्लालाई थलो बनाउनेहरु बढि देखिएका छन् ।
इटहरी उपमहानगरपालिकामा ४० हजार २ सय ७ घरधुरी रहेको जनगणनाले देखाएको छ भने त्यति घरमा ५० हजार ७ सय ४३ परिवार बस्दै आइरहेको पाइएको छ ।
दोस्रो धेरै जनसंख्या भएको तह धरान उपमहानगरपालिका छ । धरानको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ । त्यसमध्ये ८२ हजार ६८३ जना पुरुष र ९० हजार ४१३ महिला छन् । धरानमा जनगणना भएको घरसंख्या ३४ हजार ८३४ रहेको छ भने परिवार संख्या ४३ हजार ८१५ रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।
यस्तै, तेस्रो धेरै जनसंख्या बराहक्षेत्र नगरपालिकाको ९१ हजार ८९१ रहेको छ । त्यसमध्ये पुरुष ४३ हजार १७८ र महिलाको जनसंख्या ४८ हजार ७१३ भएको छ । इनरुवा नगरपालिकाको जनसंख्या ७५ हजार ९२०, दुहबी नगरपालिकाको जनसंख्या ६७ हजार ५१, रामधुनी नगरपालिकाको ६३ हजार ३७८, हरिनगर गाउँपालिकाको ४९ हजार ५०१, भोक्राहा नरसिंह गाउँपालिकाको ४९ हजार ३७१ र कोशी गाउँपालिकाको ४८ हजार ७६८ जनसंख्या पुगेको छ ।
यसैगरि, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४७८, देवानगञ्ज गाउँपालिकाको ३९ हजार ३६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५३३ पुगेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ ।