इटहरीः इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ युवा विद्यार्थीहरूलाई फेसबुक चलाउनभन्दा समसामयिक कानुन अध्ययन गर्न जोड दिएका छन् । अधिकांश युवाहरू समसामयिक विषय अध्ययन गर्ने भन्दा पनि मोबाइलमा व्यस्त हुने परिपाटी बढ्दै गएकाले पठन संस्कृतिको विकास गर्न उनले विद्यार्थीलाई सुझाएका हुन् ।

‘युवा साथीहरू आजकाल धेरै समय फेसबुकमा बिताउने बानीमा पर्न थाल्नुभएको छ’, डिएसपी श्रेष्ठले भने, ‘युवा उमेरको सबै जोश फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा सक्नुभन्दा पनि समसामयिक कानुन लगायतको अध्ययनमा लाग्दा राम्रो हुन्छ । यस्तो बानीले समाजमा धेरै आपराधिक गतिविधि रोक्न मद्दत गर्छ ।’

देशभर नै महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराध बढेको सन्दर्भमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत इटहरी नमुना कलेजले गरेको विद्यार्थी प्रहरी अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले समसामयिक कानुन अध्ययन गर्न सुझाएका हुन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमसमेत उपस्थित अन्तरक्रिया कार्यक्रममा महिला हिंसा नियन्त्रणको सन्दर्भमा प्रहरी र विद्यार्थीबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा श्रेष्ठले इटहरीकै उदाहरण दिँदै कानुनसम्बन्धी ज्ञानको अभाव रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा पक्राउ परेका पीडकको अनुसन्धान गर्दा ७५ प्रतिशत भन्दा बढीलाई कानुनी ज्ञानको अभाव रहेको थियो । पक्राउ परेका पीडकहरूलाई आपूmले गरेको अपराधमा के कति सजाय हुन्छ भन्ने थाहा नभएको उनले बताए । अन्तरक्रियामा सहाभागीहरूले सोधेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले अधिकांश पीडकहरूलाई आफ्नो कुकर्ममा कानुनमा के सजाय हुन्छ भन्ने थाहा नभएको बताए ।

‘अधिकांश पीडकहरू कम मात्र पढेका हुने पनि तथ्याङ्कले देखाएको छ । जो सामान्य प्रकृतिको काम गर्ने गर्छन्’ श्रेष्ठले भने, ‘कम अध्ययन र कानुनी ज्ञानको अभावमा पनि धेरैले नजानिँदो पाराले अपराध गर्ने गरेका पनि छन् । उनीहरूले गरेको अपराधमा के सजाय हुन्छ थाहा छ भन्दा थाहा नभएको बताउने गरका छन् ।’

चालु आर्थिक वर्षको ४ महिनामा ८ वटा बलात्कारका मुद्दा इटहरीमा दर्ता भएका छन् । जसमा अधिकांश पीडकहरू एसएलसी वा सोभन्दा कम मात्र पढेकाहरू पक्राउ परेका छन् ।
कम पढेलेखेका मात्रै होइन स्नातक सकेकामा पनि कानुनी ज्ञानको अभाव हुने गरेको पाइएको उनले बताए । धेरैले मादक पदार्थ सेवन गरेर होस् गुमाई अपराध गर्ने गरेका छन् भने कतिले आपूmले गरेको कामलाई अपराध होइन भनेर नाजानिँदो पारामा अपराध गर्ने गरेका छन् ।

‘१८ वर्ष भन्दा कम उमेरकासँग सहमतिमै शारीरिक सम्पर्क गरेमा पनि बलात्कारकै मुद्दा चल्ने विषयमा अझै पनि धेरै व्यक्तिहरूलाई जानकारी छैन ।’