इटहरीः नेपाल खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको कार्यकारी प्रमुख सदस्य सचिव सम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधिन हुँदा खेलकुद क्षेत्र ठप्प बनेको भन्दै राखेपको कर्मचारी संघ सहित तीन वटा संस्थाले आन्दोलन गर्ने भएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दैै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले सयुक्त रुपमा सदस्य सचिवको विवादको कानुनी किनारा नलाग्दा सम्मको अवस्थामा खेलकुदलाई चलायमान बनाउन र उत्त रिटको शिघ्र किनारा लगाउन सम्मानित सर्वोच्च अदालतलाई आग्रह समेत गरेका छन् ।
खेलकुदको क्षेत्रलाई चलायमान बनाउन खेलकुदको प्रत्यक्ष सरोकारवाला संस्थाहरु आफ्नो हक अधिकारको प्रयोग गर्दैै परिषदबाटै उल्लेखित शान्तिपुर्ण विरोध कार्यक्रम गर्न लागिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका तर्फबाट दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघको तर्फबाट दिपक बिष्ट र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको तर्फबाट रंजन थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा भोलि माघ २० गते विहिबार बाह्र बजे दशरथ रंगशालामा आन्दोलनका लागि उपश्थित हुन सम्पुर्ण खेलप्रेमिमा अनुरोध गरिएको छ ।