खोटाङः रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले खोटाङको केपिलासगढी गाउँपालिकास्थित वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।
कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ । विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताए ।

एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासी समेत रहेकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताइन् । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ । उनले, ‘म काठ्माण्डौकी छोरी, मेरो कर्म जिल्ला हो यो ठाउँ, अहिले युकेमा बसेर पनि हामीले नागरिकका लागि हर सहयोग गरिरहेका छौँ । यहाँका नागरिकले सद्भाव जनाइरहनुभएको छ । हाम्रो तर्फबाट यहाँका हरेक विषयमा सहयोग रहने छ । त्यसमाथि सरकारको पनि सहभागिता रहेकोले हामी उत्साहित बनेका छौँ ।’
गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताए । ‘हामी जनप्रतिनिधि भएपछि धेरै कामहरू गरिरहेका छौँ, यस्ता सङ्घ संस्थाको समेत सहयोग जुट्यो भने यो विकट ठाउँ सुगम बन्ने छ ।’ उनले भने ।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागु भएपछि प्रदेश सरकार गाँउ ठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताए । फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने उनले बताए ।
विकासका काममा सबै जुटौँः मन्त्री कार्की
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री कार्कीले विकासका काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । ‘हामी नेतालाई भ्रष्टाचारी भन्दै गाली गछौं, तर हामी आफै पनि विचार गरौँ त, विकासका नाममा एक ट्याक्टर ढुङ्गा आए पनि हामी आफै राख्न खोज्छौँ, अनि हामी चैँ भ्रष्टाचारी हैन र ?’ उनले आफ्नो ठाउँको विकासका लागि आफै जुटेमा दुर्गम गाउँ सुगम बन्ने बताए । ‘यसका लागि सरकार हातेमालो गर्न तयार छ । सरकार त्यसै पनि जनताको सेवक हो । उनले, ‘अहिले सबै अधिकार प्रदेशकहाँ अझैँ आई नसकेकाले समस्या भइरहेको छ ।’
कार्यक्रमको सभापतित्व वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र बहादुर गुरुङले गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरी, वासपानी स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी कार्की सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।