इटहरीः पुँजीगत खर्च हुन नसकेपछि सरकारले चालु आर्थिक बर्षको बजेटलाई दोस्रो पटक संशोधन गरेको छ ।
अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन विधयकमार्फत आकार घटाएका अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च नभएपछि बजेटलाई दोस्रोपटक संशोधन गरेका छन् ।
अर्थमन्त्री शर्माले सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट संशोधन गर्दै बजेटको आकार घटाएका हुन । चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड हुने गरी बजेटको आकार संशोधन भएको अर्थमन्त्रालयले मन्त्रालयले जनाएको छ । सरकारले प्रतिस्थापन विधेयक मार्फत १६ अर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
अहिले कायम गरिएको बजेट कुल विनियोजनको करिब ९४।७० प्रतिशत हो । सरकारले घोषित स्थानीय तह निर्वाचन खर्च, कोभिड १९ विरुद्धको खोप लगायतको खर्च, रासायनिक मल खरिद, बेमौसमी बर्षले पारेको धानबालीमा भएको क्षतिपूर्ति, अनिवार्य दायित्व पूर्व सहमति दिएका ठुला आयोजनाको संभावित दायित्व समेतलाई मध्येनजर गर्दै बजेटको आकार परिवर्तन गरेको बताइएको छ ।
सरकारले चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ, पूँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा सरकारको स्रोतबाट (राजश्व र आन्तरिक ऋण) १२ खर्ब ८९ अर्ब ८२ करोड, बैदेशिक अनुदानतर्फ ५० अर्ब र बैदेशिक ऋणतर्फ २ अर्ब ६ अर्ब ४६ करोड हुने अनुमान गरेको छ ।