बराहक्षेत्रः  शुक्रबार बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले सुर्यकुण्डमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरे ।

वडा नम्बर १ मा पर्ने सुर्यकुण्डमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका मेयर खनालले सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई खबर नै नगरेको पाइएको छ ।
वडा अध्यक्ष सुरेस श्रेष्ठ भन्छन्, ‘भवनको लागत कति हो ? कहिलेसम्म निर्माण हुने हो ? निर्माण उपभोक्ता समिति वा निर्माणको ठेक्का लागेको भन्नेबारे वडा कार्यालयलाई कुनै जानकारी छैन् । भवनको शिलान्यास पनि फेसवुक हेरेर मात्र थाहा पाएँ ।’
शनिबार नेपाली कांग्रेस वराहक्षेत्र वडा नं १ कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले वडामा कांग्रेसको जनलहर देखेर मेयर आत्तिएको र गाउँमा नाँचगान गरेर जनताको आँखामा छारो हाल्न थालेको बताए । भवन शिलान्यासमा आफू र आफ्ना पार्टी निकट व्यक्तिहरुलाई लगेर शिलान्यास गरेको आरोप लगाउँदै श्रेष्ठले प्रश्न गरेका छन्, ‘हाम्रो वडामा बन्ने योजनाबारे वडालाई जानकारी दिनु पर्छ कि पर्दैन ?’
 यता, बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले भने मेयर खनालको आग्रहमा भवन शिल्यानास एक्कासी गर्नु परेको बताएका छन् । उनले शुक्रबार बिहान मेयर सावले सुर्यकुण्ड भवनको लागि जग्गा हेर्न जानू भन्नु भएको र त्यहाँ पुग्दा मात्रै शिलान्यासकै कार्य रहेको थाहा पाएको बताए ।
नगरपालिकाको योजनामा साबिकका ५ वटा गाबिसमा गाँउघर क्लिनिक निर्माण गर्ने योजना रहेको हुँदा उक्त योजनाकै बजेटबाट उक्त स्वास्थ्य चौकीको भवन निर्माण हुने मेहताले बताए । चालु आर्थिक बर्षमा नगरपालिकाले गाँऊघर क्लिनिकका लागि १५ लाख बजेट बिनियोजन गरेको छ । ३/३ लाखमा ५ बटा क्लिनिक बनाउने योजना भए पनि अन्य ठाउँ भन्दा सुर्यकुण्ड दुर्गम रहेकाले ५ लाखमा उक्त भवन निर्माण हुने मेहताले बताए ।