इटहरीः जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले बिक्रि गरेको आइपीओ आइतबार साँझ बाँडफाँट भएको छ ।
जाल्पाको आइपिओमा गोलाप्रथामार्फत ४८ हजार ७९० जना सर्वसाधारण ले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकीको हात खाली भएको छ । जाल्पाको आईपिओमा अहिले सम्मकै धेरै आवेदन परेको थियो ।
आइपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २७ लाख ९ हजार ८५५ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ८७ हजार ४१२ जनाको आवेदन मात्र योग्य ठहरिएका थिए भने बाँकी योग्य आवेदकलाई गोलाप्रथाबाट आईपिओ बाँडफाँड गरिएको थियो ।
कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रि खुल्ला गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् ।
लगानीकर्ताले जल्पा सामुदायिक लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर बाट पनि रिजल्ट हेर्न सक्नेछन् ।