विराटनगरः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् उद्योगी श्रवण अग्रवालउपर साङ्घातिक आक्रमण भएको छ।
विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने एक पान पसलमा पान खाइरहेका बेला शनिबार उद्योगी अग्रवालमाथि आक्रमण भएको हो। उनको मुखभित्र ८ वटा टाँका लागेका छन्। उनलाई खान पिउन समेत अप्ठेरो भएको पारिवारिक स्रोतले जनाएको छ। उनी घरैमा बसेर उपचार गराइरहेका छन्।
अग्रवाललाई आक्रमण गर्ने विराटनगर –२ निवासी पवन शर्मा हुन्। करिव ४० वर्षका उनी एक कागज उद्योगमा काम गर्छन्।
प्रत्यक्षदर्शी एवम् अग्रवालका व्यावसायिक पार्टनर राजु राठीका अनुसार अग्रवाल बिहान ११ बजे पान खान पसलमा पुगेका थिए। त्यही बेला शर्मा आएर अग्रवाललाई अश्लील शब्दमा तथानाम गाली गर्न थाले। अग्रवालले शर्मालाई सम्झाउँदै तिमीसित मेरो केही लिनुदिनु छैन भने किन झगडा गर्छौ भन्ने प्रश्न गरे।
यसैबीच शर्मा हातपातमा उत्रन खोजे,तर त्यहीँ पान खान आएका अर्का युवक राजु सन्थालियाले शर्मालाई त्यहाँबाट लिएर गए। यसपछि अग्रवाल पान मुखमा हालेर आफ्नो मोटरसाइकल चढ्दै थिए। त्यही बेला सबैलाई झुक्याएर अकस्मात् शर्मा आइपुगे र रड र सिमेन्टले बनाइएको रेलिङमा प्रयोग गरिने मोटो डन्डीले श्रवणको मुखमा हिर्काए।
श्रवणका भाइ राजु अग्रवालले शर्मालाई ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेर दिएका छन्।
राजुले भने, ‘दिन दहाडै विराटनगरको मेनरोडमा आक्रमण गरिएको छ। त्यो मोटो डन्डी टाउकामा लागेको भए दाजुको अवस्था जस्तो पनि हुनसक्थ्यो। हामीले सबुत प्रमाणसहित मोटो डन्डी पनि प्रहरीमा बुझाएका छौँ।’
नेउवा महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले आफ्नो कार्यसमितिका सदस्य एवम् एक सक्रिय उद्योगीउपर दिन दहाडै गरिएको साङ्घातिक हमला निन्दनीय र दण्डनीय भएको बताएका छन्।
महासंघका तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष ढकालले उद्योगी श्रवणउपर आक्रमण गर्नेलाई अविलम्ब कानुनी कारबाहीमा ल्याउन माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका एपी जनार्दन जिसीले आक्रमणकारी शर्मा फरार भएको र प्रहरीले खोजी जारी राखेको बताए। घाइते श्रवण विराटनगरमा चिनी र खाद्यान्नका ठूला व्यवसायी हुन्। उनका तेल र चिउरा उद्योग सञ्चालनमा छन्। राइस मिल र मैदा मिल निर्माणाधीन छन्। पोहिलोपोष्टबाट