इटहरीः ओखलढुङ्गा र रामेछाप जिल्ला बासीलाई लक्षित गर्दै ग्रीन भेन्चर्स लिमिटेडले आज फागुन २ गते सोमबारदेखि आइपिओ निष्काशन गरेको छ । आयोजना प्रभावित ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीय बासिन्दाहरुलाई कम्पनीले ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यता, रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि खुल्ला गरिएको आईपिओमा स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन कम्पनीले बताएको छ ।

कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १०५ सेयर स्थानीयलाई बिक्री गर्न लागेको हा । यो आइपीओमा लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले लक्ष्मी बैंक मंथली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मन्थली शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, आयोजना स्थलबाट पनि आइपीओ भर्न सकिन्छ ।
आयोजना प्रभावितलाई आईपिओ बिक्रि गरेपश्चात कम्पनीले सर्वसाधारणको लागि आईपिओ बिक्रि गर्नेछ ।