इटहरीः धरान उपमहानगरपालिका वडा नम्बार १४ मा रहेको आइडियल बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

पहेँलो कलरको स्कुलको को १ प ३३९९ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनाबाट बसका सवार भएका चालक र सहचालक सहित १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

घाइतेहरुमा ‘१४ जना विद्यार्थी, चालक र सहचालक छन् । चालक र सहचालकको टाउकोमा चोट लागेको र सबै विद्यार्थी सामान्य घाइते भएको बताइएको छ । घाइतेहरुको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्यार्थी पुरयाउन हिँडेको बस बसन्तटार भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना भएको थियो । बस रुखमा अड्किएको अवस्थामा भेटिएको छ । रुखका कारण ठुलो दुर्घटनाबाट बचेको प्रहरीको भनाई छ । दुर्घटनामा बसका चालक धरान–१४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय बीर्खबहादुर तामाङ घाइते भएका छन् ।