इटहरीः स्वदेश तथा विदेशमा अध्ययनको लागि आवश्यक परामर्श दिने संस्थाहरुको छाता संगठन इक्यान नेपालको प्रदेश एक कमिटिले आफ्ना बिभिन्न माग सहित प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई भेट गरेका छन् ।

शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श सेवा क्षेत्रको व्यावसायिक प्रकृति अनुसार दर्ता प्रक्रिया संघिय वा प्रदेश सरकारले गर्नुपर्ने र विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि अध्ययन अनुमति पत्र एनओसि अनलाइनबाटै उपलव्ध गराउनु पर्ने माग इक्यानले राखेको छ ।

इक्यानका अध्यक्ष प्रकाश लकान्द्री र सचिव रवि गुप्ताद्धारा जारी गरीएको ज्ञापनमा विदेश जाने विद्यार्थीका लागि आवश्यक पर्ने एनओसी र यसमा आवश्यक पर्ने भुत्तानीको प्रक्रिया समेत घरमै बसेर गर्न सकिने गरी व्यावस्था गरिदिन प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीको लागी शैक्षिक परामर्श दिने र भाषा प्रशिक्षण तथा तयारी गराउने र अन्तराष्ट्रिय विद्यार्थी नेपालमा आएर पढ्ने वातावरण बनाउने संस्थाहरुको छाता संगठन इक्यानले सोमबार मुख्यमन्त्रीलाई भेटेको हो ।

प्रदेश एक लगायत नेपालभर ६ ओटा शाखा रहेको संस्थाले नेपालमा हालसम्म विदेशमा शिक्षा प्राप्त गर्न जाने नेपालीको लागि परामर्श र भाषा कक्षाका लागि १ हजार ४ सय ७३ वटा परामर्शदाता कम्पनी दर्ता भएको जनाएको छ ।२०७३ सालमा इक्यान पुर्वाञ्चल शाखा विस्तार भएदेखि ईटहरीमा कार्यालय सञ्चालन गरीरहेको छ । प्रदेश नम्बर १ मामात्रै २०० को हाराहारीमा परामर्श संस्थाहरु रहेको बताइएको छ । प्रदेश सरकारले यस क्षेत्रलाई व्यवस्थित गरोस् भन्ने आफ्नो आशय रहेको समेत ज्ञापनमा खुलाइएको छ ।