इटहरीः नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले पूर्व प्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सरकारका मन्त्रीहरू विरूद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा उजुरी दर्ता गरेको छ ।
अनेरास्ववियूले अख्तियारमा दर्ता गरेको उजुरीमा बिर्तामोडस्थित गिरीबन्धु– टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको जिकिर गरिएको छ ।

274191963_981407125823285_5979279084701846429_n
सो प्रकरणमा संलग्न तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि उजुरीमा कारबाहीको माग गरिएको छ ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न सो उजुरीमा माग गरिएको छ ।
त्यसैगरी भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना गरेकोमा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको अनेरास्ववियूले जनाएको छ ।