बेलबारीः रामेछापको मन्थलीका शम्भु कार्कीले मोरङको ग्रामथान गाउँपालिकामा आफ्नै सवारी साधनमा आगो लगाएका छन् । आफैं चालकसमेत रहेका कार्कीले बा २ ख ८०७४ नम्बरको माइक्रोबसमा मङ्गलबार राति आफैंले आगो लगाएका हुन् ।
आगो लगाउने क्रममा उनी घाइतेसमेत भएका छन् । माइक्रोका सहचालक रामेछापको लिखु बस्ने दिनेश बरुवालले पनि आगो लगाउन सहयोग गरेको प्रहरीले जनाएको छ । गाडीमा आगो लगाउनकै लागि विराटनगरबाट भित्री बाटो हुँदै ग्रामथानतिर उनीहरूले माइक्रोबस ल्याएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । आगो आफैंले लगाएको हो भन्ने थाहा नहोस् भनेर आफैंलाई घाइतेसमेत बनाएको प्रहरीले जनाएको छ । कार्कीले सहचालकलाई पनि घाइते बनाई अनुहारमा माटो दल्नुका साथै उनको मुखभित्र माटो हालिदिएको प्रहरीले जनाएको छ ।
यसरी थाहा भयो घटना
प्रहरीको कन्ट्रोल नम्बर १ सयमा राति फोनको घण्टी बज्यो । ‘अज्ञात नकावधारी समूहले हाम्रो गाडीमा आगो लगायो’, प्रहरीले फोन उठाउनासाथ एक जना व्यक्तिले आत्तिँदै भने, ‘हामीसँग भएको पैसा पनि लुटेर लगे ।’ त्यसपछि घटनास्थलको लोकेसन लिएर जिल्ला प्रहरीले इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी गरायो ।
इलाकाले सुन्दरहरैंचा नगरपालिकाको दमकललाई खबर गरी आगो नियन्त्रणमा लियो । त्यसपछि प्रहरीले फोन गरी घटनाको बारेमा जानकारी दिने व्यक्ति खोज्दा बेलबारीको नोबेल अस्पतालमा उपचार हुँदै गरेको पत्ता लाग्यो । सो अस्पतालको एम्बुलेन्स विराटनगर पुगेर फर्कंदै गर्दा बाटामा आगोले जलेका घाइते भेटेपछि उद्धार गरी बेलबारी ल्याएको प्रहरीले पत्ता लगायो ।
उपचाररत उनीहरूले प्रहरीलाई घटनाको जानकारी गराउँदै ७–८ जनाको नकावधारी समूहले ४५ हजार नगद लुट्नुका साथै आफूहरूलाई कुटपिट गरेर गाडीमा आगो लगाएको बताए । उनीहरूको बयान शङ्कास्पद लागेपछि गहिरिएर अनुसन्धान गर्ने क्रममा कार्की आफैंले घटनाको वास्तविकता बताएको प्रहरीले जनाएको छ ।
गाडी चलाएर घाटा हँुदै गएको र आफू ऋणमा डुब्दै गएका कारण बीमा कम्पनीबाट क्षतिपूर्ति लिन गाडीमा आफैंले आगो लगाएको कार्कीले बयान दिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । उनीहरू दुवै जना विरुद्ध मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको राईले बताए ।