इहटरी/ केन्द्रीय सरकारका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता समेत भइसकेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद हाँक्ने सहयोगी तथा सल्लाहकार समूह बल्ल बन्न थालेको छ ।

गत फागुन ३ गते शपथ लिएका राईले १३ जना सम्मको निजी टिम बनाउन पाउँछन् । प्रदेश १ को मुख्यमन्त्रीको सेवा सुविधा सम्बन्धी प्रदेशको ऐन २०७५ ले यसको कानुनी व्यवस्था गरेको छ । तर, हालसम्म स्वकीय सचिव, कानुनी मस्यौदा सल्लाहकार र प्रेस सल्लाहकार मात्रै औपचारिक रूपमा नियुक्ति भएका छन् ।

मुख्यमन्त्रीलाई अत्यावश्यक राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार र प्रमुख स्वकीय सचिवको भने अझै नियुक्ति भएको छैन । महत्वपूर्ण सल्लाहकारका साथै केही आवश्यक सहयोगीको नियुक्ति पनि अझै बाँकी छ । केही समयको अन्तरालमै आफ्नो टिमले पूर्णता पाउने राई बताउँछन् ।

हालका तीन प्रमुख अनुहार ः

रेवतीरमण भण्डारी
मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री भएकै महिना कानुनी मस्यौदा सुझाव समितिको सल्लाहकारमा नियुक्त गरेका हुन् रेवतीरमण भण्डारीलाई । भण्डारी दोस्रो संविधानसभामा संविधान बनाउन सक्रिय र कानुनको औपचारिक अध्ययन अनि वकालत अनुभव भएका पूर्व संघीय सांसद हुन् । प्रदेशका विभिन्न कानुनहरू निर्माणमा कम अनुभव भएका सभामुख, सांसद र सरकारलाई कानुनी सल्लाह दिन्छन् भण्डारी ।

संविधानसभामा रहँदा विधायन समितिमा सक्रिय रहेका भण्डारीले जनमत हुँदाहुँदै वाम गठबन्धनको नाममा आफ्नो चुनावी क्षेत्र सुनसरी २ बाट टिकट पाएका थिएनन् । दोस्रो संविधान सभामा भण्डारीले ७ हजार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।

ध्रुव सुवेदी
एभिन्युज टेलिभिजनदेखि नागरिक दैनिक सम्मका राष्ट्रिय मिडियामा काम गरेको अनुभव भएका ध्रुव सुवेदी मुख्यमन्त्री राईका प्रेस सल्लाहकार छन् । उनी २०७५ असार १३ गते प्रेस सल्लाहकारमा प्रदेश क्याबिनेटबाट नियुक्त भएका हुन् । शेरधन राईको चुनाव क्षेत्र भोजपुर –२ का स्थायी बासिन्दा सुवेदी भोजपुरबाटै पत्रकारिता शुरु गरेर केही वर्ष अगाडि राजधानी गएका थिए ।

मकर खड्का
पूर्व एमालेको विद्यार्थी मोर्चा अनेरास्ववियुका केन्द्रीय सचिव मकर खड्का मुख्यमन्त्री राईका स्वकीय सचिव रहेका छन् । भोजपुर क्षेत्र नम्बर १ का स्थायी बासिन्दा खड्का राईको चुनावी दौरानदेखि नै सक्रिय सहयोगीको रूपमा रहेका छन् ।