इटहरीः धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति ज्ञानेन्द्र गिरि लगायतका पदाधिकारीले शुक्रबारबाट काम शुरु गरेका छन् ।

प्रतिष्ठानमा अनियमितता बढेको भन्दै सरकारले गिरी लगायत पदाधिकारीलाई पदमुत्त गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालत गएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साह शुक्रबारबाट प्रतिष्ठान फर्किएका हुन् ।सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि उनिहरु जिम्मेवारीमा फर्किएका हुन् ।

काममा फर्केसँगै उपकुलपति गिरीले माघ महिनाको शिक्षक तथा कर्मचारीहरुको तलब भुक्तानी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ । पदाधिकारी विहिन भएपछि प्रतिष्ठानका कर्मचारीले माघ महिनाको तलव पाएका थिएनन् ।

सरकारले वहालवाला पदाधिकारीहरुबाट भ्रष्टाचार मौलाएको भन्दै महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध प्रतिष्ठानका उपकुलपति डा.गिरी र अस्पताल निर्देशक डा.साहले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदनको फागुन ४ गते सुनुवाई गर्दे सर्वोच्चका न्यायाधिश ईश्वरप्रसाद खतिवडाले पदाधिकारीहरुको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेका थिए ।

कार्यभार सम्हालेसँगै उपकुलपति गिरीले सबैसँग मिलेर काम गर्ने बचन दिएका छन् । जिम्मेवारीमा पुनः फर्किएपछि उपकुलपति डा.गिरीले आफ्नो प्राथमिकता संस्थालाई अघि बढाउने र विगतमा थालनी भएको कामहरुलाई पुरा गर्ने रहेको बताएका छन् ।