इटहरीः चारतला माथिबाट मोरङ्गका पत्रकार यादव पौडेललाई धकलेर हत्या गरेको अभियोगमा थुनामा रहेका मुख्य आरोपी युवराज गिरीले आममाफी पाएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा हरेक बर्ष असल चालचलन भएको भन्दै राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैदीको कैद माफी मिनाहा गर्ने चलन अनुरुप गिरीले आममाफी पाएका हुन् ।

गिरीसहित जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १६ जनाको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय भएको छ । गिरीले झण्डै १० बर्ष सजाय काटिसकेको बताइएको छ ।

मोरङ घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या गरिएको थियो ।
हत्या अभियोगमा पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

अदालतको आदेशपछि फूलमाया भनिने मञ्जु ढकाल (कार्की) थुनामा गएकी थिइन् भने सोमनाथ ढकाल फरार भएका थिए । अर्का आरोपी मदन राईलाई ६ महिनाको कैद सजाय सुनाइएको थियो ।

पौडेललाई बिर्तामोडको नयाँ बसपार्क नजिक पूर्वाञ्चल होटल एण्ड सेकुवा कर्नरको चौथो तलाबाट धकेलेर खसालेको मञ्जुले पनि बयान दिएकी थिइन् । चौथो तलामा भनाभन भइरहेका बेला गिरीले पत्रकार पौडेललाई खसालेर हत्या गरेको बयान सार्वजनिक भएको थियो ।

राजधानी दैनिक, एभिन्युज टेलिभिजन र झापाबाट प्रकाशित हुने मेची टाइम्स दैनिकमामा कार्यरत पत्रकारलाई चौथो तलाबाट धकेलेर झारेपछि शवलाई अन्तै लगेर फ्याकिएको थियो । अस्पतालको पोष्टमार्टम रिपोर्टमा पौडेलको टाउको र फोक्सोमा रगत जमेको, कलेजो फुटेको, तीनवटा करङ तथा देब्रे हात भाँचिएको उल्लेख थियो ।