इटहरीः इनरुवा नगरपालिकाका मेयर राजन मेहताले आफ्नो कार्यकाल सकिनै लाग्दा नगरपालिकामा सपिङ्ग कम्प्लेक्स बनाउने सम्झौता गरेका छन् ।

आइतबार सम्झौता हस्ताक्षर गर्न जाँदै गर्दा आफ्नो सपनाको आयोजनामा सम्झौता गर्न जाँदै गरेको संकेत गरेका थिए । इनरुवा नगरपालिकाले नगर विकास कोषसँगको ऋण सम्झौतामा २४ करोड ३१ लाख रुपैयाँको लागतमा कम्प्लेक्स बनाउन लागेको हो ।

सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताबिच १९ करोड ४५ लाख २६ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

कम्प्लेक्स निर्माणको कुल अनुमानित लागत रकम २४ करोड ३१ लाख ५८ हजार रहेकोमा ८० प्रतिशत ऋण रकम कोषको तर्फबाट र २० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने सहमति भएको छ । ऋण सम्झौता गर्न इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज निरौला र नगरप्रमुख मेहता राजधानी गएका थिए ।

सम्झौता अनुसार इनरुवा नगरपालिका वडा नंं १ मा करिब ५ कठ्ठा १८ धुर क्षेत्रफलमा निर्माण हुने सपिङ कम्प्लेक्सको भवनलाई नगरपालिकाले महत्त्वपूर्ण व्यवसायिक आयोजनाको रूपमा लिएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै इनरुवा नगरपालिकाका नगर प्रमुख मेहताले नगरवासीलाई व्यवस्थित र आधुनिक सहरी सेवा सुविधा प्रवाह गर्न यस आयोजनामा नगर विकास कोषको ऋण महत्त्वपूर्ण हुने बताएका छन् । आयोजना समयमा नै सम्पन्न हुने विश्वास समेत मेहताको छ ।

आयोजनाको डिपिआर तयार भइसकेको बताइएको छ । सपिङ्ग कम्प्लेक्स निर्माण सकिएपछि आयोजनाबाट व्यवस्थित व्यवसायीक क्रियाकलाप, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणकामा समेत महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।