इटहरीः सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको मिति आउन झण्डै ८० दिन बाँकी छ तर माहौल भने एक हिसावले निर्वाचनमय भएको छ । चिया पसलहरुमा भोटका कुरा हुन थालेका छन् । राजनितिक पार्टीहरु गुलिया वचन साट्दै नमस्कार बाँड्नमा तल्लिन देखिन थालिसकेका छन् ।

संगठनहरु वडा वडा र टोल टोलमा तिव्र रुपमा गठन हुँदै छन् यसै क्रममा हामीले सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा २०७४ सालको स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गर्ने नगरप्रमुखका उमेद्वारहरुको मत परिणामको झल्को हाम्रो पाठकलाई दिने जमर्को गरेका छौँ ।

रामधुनी नगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा दश जना नगरप्रमुखको प्रतिस्पर्धामा थिए । भिडन्तमा उत्रिएका दश मध्ये ४ जना स्वतन्त्र उमेद्वार थिए भने बाँकी ६ जना राजनितिक पार्टीको टिकट पाएर प्रतिस्पर्धामा थिए ।
गज्जवको कुरा त के छ भने स्वतन्त्र उमेद्वारको रुपमा उठेका २ जना नगरप्रमुखका दावेदारको मत एक पनि आएको छैन् । एक मत पनि नल्याउने मेयरका दावेदारमा स्वतन्त्र उमेद्वार सुर्य प्रसाद दाहाल र मनराज दाहाल छन् । यी दुवै जनाको मत परिणाम शुन्य छ ।

स्वतन्त्रका अर्को उमेद्वार राजन कुमार गौतमले जम्मा ८ मत ल्याएका छन् भने अर्को स्वतन्त्र उमेद्वार डिल्ली बहादुर खनाल खत्रीको मत परिणाम ११ छ । रामधुनी नगरपालिकाको मेयरको दावेदारहरुले ल्याएको यो सबैभन्दा कम मत परिणाम हो । यसैगरी राजनितिक पार्टीको टिकटबाट उठेका संघीय समाजवादी फोरम नेपालका राम बहादुर खड्काले १ सय ५५ मत प्राप्त गरेका छन् । खड्का मत परिणामको आधारमा छैठौ नम्बरमा परेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका दावेदार गोपाल बहादुर कार्कीले १ सय ८१ मत प्राप्त गरेका थिए भने मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका उम्मेद्वार केदार प्रसाद गेलालले ३ सय ७३ मत प्राप्त गरेका थिए । गेलाल मतपरिणामको आधारमा चौथो बनेका थिए ।

रामधुनी नगरपालिकाको मेयर पदको लागि नेपाली काँग्रेसका जयप्रकाश चौधरी र नेकपा एमालेका नन्द कुमार बस्नेत बिच भने निकै प्रतिस्पर्धा भएको थियो । चौधरीले ९ हजार ७ सय ६ मत प्राप्त गरेर मेयरको ताज पहिरिने अवसर पाए भने बस्नेत देश संघिय संरचनामा गएपछिको पहिलो स्थानिय निकायको चुनावमा सबैभन्दा बढि मत ल्याएर हार्ने नेतामा कहलिए । नेकपा एमालेबाट टिकट पाएका बस्नेतले ८ हजार ८ सय ५० मत प्राप्त गरेका थिए भने तेस्रो भुमिकामा देखिएका नेकपा माओवादी केन्द्रका दिनेस कुमार चौधरीले १ हजार ३ सय ६५ मत पाएका थिए ।

यसैगरी रामधुनी नगरपालिकाको उपमेयर पदमा ८ जनाको प्रतिस्पर्धा भएको थियो । नगरको उपमेयरको ताज पहिरिन उत्रिएका ८ जना मध्ये २ जना स्वतन्त्र उम्मेद्वार थिए भने ६ जना बिभिन्न राजनितिक पार्टीको टिकटमा थिए ।
उपमेयर उठ्ने स्वतन्त्र उम्मेद्धवार चिर्तु चौधरी र सरस्वती देवी पौडेल थिए । चिर्तु चौधरी उपमेयर दावी गर्ने रामधुनीका एक्ला पुरुष पनि हुन चिर्तु बाहेक ७ जना सबै महिला उपमेयरको दौडमा देखिएका थिए । स्वतन्त्र एक्ला पुरुष चिर्तुले जम्मा १५ मत प्राप्त गरेका थिए भने अर्की स्वतन्त्र महिलाले सरस्वती देवी पौडेलले ३७ मत प्राप्त गरेकी थिइन् ।

संघीय समाजवादी फोरम नेपालले सविना चौधरीलाई उपमेयरको टिकट दिएको थियो । चौधरीले २ सय १५ मत प्राप्त गरेकी थिइन भने राप्रपाकी मिना कुमारी कार्कीले ३ सय १३ मत प्राप्त गरेकी थिइन् । उता रामधुनी नगरपालिकाकी उपमेयरकी दावेदार देवसरी चौधरीले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेद्वारी दिएकी थिइन् । उनले ६ सय ४१ मत पाइन भने नेकपा माओवादी केन्द्रकी उम्मेद्वार श्याम कुमारी साहुले १ हजार ३ सय ६७ मत पाएकी थिइन् ।

रामधुनी नगरपालिकामा उपमेयरको लागि नेकपा एमालेकी सविना कुमारी चौधरी र नेपाली काँग्रेसकी बिजया कटुवालबिच प्रतिस्पर्धा भएको थियो । सविनाले ९ हजार ७ सय ४२ मत ल्याएर उपमेयरमा जित हासिल गरिन भने बिजयाले ७ हजार ९ सय २६ मत ल्याएर ठुलो मत ल्याएर पनि हार्ने उम्मेद्धवारको नाममा आफुलाई राखिन् ।

अघिल्लो निर्वाचनमा जित हासिल गरेका उम्मेद्धवारले ५ बर्षमा गरेको विकासको लेखाजोखा धेरथोर जनताले गरेका छन् । त्यसको समिक्षा पक्कै जनताले नै गर्लान् । सक्षम नेतृत्व रोज्ने जनताको अधिकार हो । अवको चुनावमा कसलाई जिताउन प्रयोग गर्नेछन् त्यो समयले बताउनेछ ।