इटहरीः निर्वाचन आयोगले हराएको अथवा नष्ट भएको मतदाता परिचयपत्रको लागि स्थानीय तहबाट निःशुल्क सिफारिस बनाइदिन निर्देशन दिएको छ ।

नष्ट भएको परिचयपत्रबारे वडा कार्यालयबाट सिफारिस भई आएमा आयोगले पनि निःशल्क प्रतिलिपि बनाइदिने भएकाले सिफारिसमा शुल्क नलिन निर्वाचन आयोगले सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

कतिपय स्थानीय तहले हराएको अथवा नष्ट भएको मतदाता परिचयपत्रको लागि सिफारिस दिँदा शुल्क लिएको भन्ने जानकारी आएपछि मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै देशभरीका स्थानीय तहमा निःशुल्क सिफारिस दिन पत्राचार गरिसकिएको जानकारी गराएको छ । सिफारिस सहित स्यंम उपस्थित भएमा अथवा सिफारिस मेल, फ्याक्स अथवा अन्य कुनै माध्यमबाट उपलव्ध गराएमा समेत तुरुन्त दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जानकारी गराएको छ ।

मतदाता परिचयपत्र हराएका अथवा नष्ट भएका व्यक्तिले स्थानीय तह वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालय तथा आफ्नो नजिकको निर्वाचन कार्यालयमा जान आयोगले अनुरोध गरेको छ ।