इटहरीः राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ झण्डै ८० हजार जनालाई बाँडिएको छ ।

बिहिबार भएको आईपिओ बाँडफाडमा २५ लाख ८५ हजार २ सय ६१ आवेदक मध्ये ७९ हजार ४ सय ५० जनाले १० कित्ताका दरले आईपिओ पाएका छन् भने बाँकीको हात खाली भएको छ  ।

कुल आवेदक मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो । सर्वसाधारणले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् ।

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि आइपीओ निष्काशन थियो । कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन् ।

सर्वसाधारणले आफुलाई आईपिओ परे नपरेको रिजल्ट हेर्न सिडिएस एण्ड क्लियरिङ्गको आईपिओ हेर्न बनाइएको वेवसाइटबाट तथा विक्रि प्रवन्धकको वेव साइडबाट हेर्न सकिनेछ ।