इटहरीः सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको ठुलो मात्राको रकम हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको थुनछेक बहस (आज) शुक्रबार हुने भएको छ ।

विराटनगर स्थित उच्च अदालतले पक्राउ परेका पाँच मध्ये चार जना प्रतिवादीको बयान बिहीबार सकेको छ भने एक जना प्रतिवादिलाई कोरोना संक्रमण देखिएको कारण उनको वयान लिन बाँकी नै छ ।

पक्राउ परेका रामेछाप घर भइ विराटनगरमा बस्दै आएका ३० वर्षीय होम प्रसाद पौडेललाई कोरोना संक्रमण देखिएको हो । पौडेललाई ठिक भएपछि अदालतमा उपस्थित गराउने र बयान लिइने बताइएको छ ।

बैंकको १५ करोड भन्दा माथिको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका तत्कालिन सिइओ नविन सुवेदी सहितका पाँच जनाले अदालतमा आफ्नो बयान दिइसकेका छन् ।

जसमा बैंकका तत्कालिन जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख विराटनगर १ का २९ वर्षीय हिमाल भट्टराई बैंकको लेखा प्रमुख विराटनगरका ४८ वर्षीय देविप्रसाद भण्डारी र कनिष्ठ अधिकृत ३६ वर्षीय अमित थापाको बयान सकिएको बताइएको छ ।

प्रतिवादीहरुको बयान दुई दिन लगाएर सकिएकोले शुक्रबार बाट थुनछेक बहस सुरु हुने भएको हो । बादी र प्रतिवादीका कानुन व्यवसायीहरुले परैवी गरेपछि अदालतले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा छोडने र साधरण तारखेमा छोड्ने मध्ये कशुर प्रमाणित भएअनुसारको आदेश हुने छ ।

बैंकको रकम हिनामिनामा प्रतिवादी देखिएका चारै जनाले एक दर्जन वकिलहरु राखेको बताईको छ । सिइओ सुवेदीले त झनै एक्लैको लागि ३ जना वकिल राखेको बताइएको छ ।

यस मुद्दामा हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, बैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खाता वाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई विरुद्ध मुद्दा दर्ता भएको हो ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जना विरुद्ध उच्च अदालतको बाणिज्य इजालसमा मुद्दा दर्ता भएको हो । सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंककलाई भराइदिनुपर्ने सोही बरावर प्रतिवादीलाई जरिवना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजायको माग राखेर मुद्धा दर्ता भएको हो ।