इटहरीः इटहरी उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले संघिय सशर्त अनुदानमा बनेका इटहरीका ७ वटा प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् ।

संघीय सरकारबाट विनियोजन भई आएको बजेटमा वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना अनुरुप हस्पिटलहरु बनेका हुन् । तथापि इटहरी उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले भने त्यसको गलत व्याख्या गर्दै चुनावताका आफुले गरेको बाचा पुरा गरेको बताउँदै हिडेको पाइएको छ ।

संघीय सरकारले सशर्त अनुदान हस्तान्तरण गर्ने र संरचना निर्माणको लागि आवश्यक पर्ने टेण्डर प्रक्रियादेखि लिएर अनुगमन गर्ने निर्माण प्राविधिक भने उपमहानगरपालिका आफैँले व्यावस्था गर्नुपर्ने हुन्छ । इटहरी उपमहानगरभित्र अहिले उद्घाटन भइरहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रहरु संघीय बजेटबाट बनेको इटहरी उपमहानगरपालिकाका वरिष्ट इन्जिनियर जिवन घिमिरेले स्पष्ट पारे । “संघीय सरकारको बजेट हो यसमा टेण्डर प्रक्रिया देखि प्राविधिक पक्षको काम भने नगरपालिकाले हेरेको हो” घिमिरेले प्रदेश पोर्टलसँगको कुराकानीमा भने ।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले उपमहानगरभित्रका वडा नम्बर ७, १८, १९, २०, १०,१३ र ११ मा निर्माण भएका हस्पिटलको उद्घाटन गरेका छन् ।

274258358_1125154188259296_4078330100102322258_n

उद्घाटन कार्यक्रमहरुलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले “चुनावका वेला सबै वडामा आधारभूत अस्पताल पुर्याउने प्रतिबद्धता अनुरुप गरेका बाचा पुरा गरेको ” अभिव्यक्ति दिएका छन् । वाचा एकातिर भएता पनि यो भने संघीय सरकारका तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७६ /७७ को बजेट भाषणमै हरेक स्थानिय तहमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्थानिय तहको सहभागितामा हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न ५ अर्व रुपैयाँ विनियोजन गरेका थिए ।

पछि खतिवडा अर्थमन्त्री रहेकै बेला २०७७/ ०७८ मा समेत हरेक स्थानीय तहमा नसर्ने रोगको उपचार तथा आधारभुत स्वास्थ केन्द्र निर्माणको लागि संघीय सरकारले ५ अर्व १० करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने व्यावस्था मिलाएको बजेट भाषणमार्फत जानकारी गराएका थिए ।

सोहि बजेट अनुरुप सरकारी स्वास्थ्य संस्था नभएका इटहरी उपमहानगरपालिकाका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् ,भने उपमहानगरका पदाधिकारीहरु धमाधम उद्घाटन गरेर सेवा सुचारु गर्ने क्रममा छन् । नगरप्रमुख चौधरीले शनिवार वडा नम्बर १०, ११ र १३ मा नवनिर्मित स्वास्थ्य इकाई भवनको उद्घाटन गरेका हुन् ।

उनले बिहिबारमात्रै वडा नम्बर १८, १९ र २० मा स्वास्थ्य इकाई भवनको उद्घाटन गरेका थिए । धेरै जसो स्वास्य केन्द्र उद्घाटनमा नगरप्रमुखले “निर्वाचन ताका गरेको बाचा” दोहोर्याउने गरेका छन् । निर्वाचन ताका स्वास्थय पहुँच पुर्याउने घोषणा नगरप्रमुखको पार्टीले गरेको भएता पनि यो कार्यक्रम नगरपालिकाको निती कार्यक्रम भन्दा बाहिरको कार्यक्रम हो ।

274591885_976044413031778_2312040232901018691_n

सरकारले स्थानिय तहको अर्को चुनाव घोषणा गरिसकेको अवस्थामा संघीय सरकारको बजेटमा भएको कामलाई देखाएर आफुले गरेको काम भन्दै अहिलेका जनप्रतिनिधिले जनतालाई झुक्याउने काम गरीरहेको इटहरीका स्थानीय तथा नेकपा समाजवादीका नगर अध्यक्ष समेत रहेका गणेश बुढाथोकी बताउँछन् ।


निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा एक पैसाको काम पनि नगरेको तर चुनावको मुखमा आएर आफ्नो निति कार्यक्रममै नरहेको कार्यक्रम देखाउँदै जनतालाई झुक्याउन इटहरीका जनप्रतिनिधि लागि परेको बुढाथोकीले बताए ।
उपप्रमुख लक्ष्मी गौतमले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा इटहरी उपमहानगरपालिकाबाट भएका विकासका कार्यका कारण जनताले गाउँ गाउँमा सिंहदरबार आएको महसुस गरेको बताएकी छन् ।

गौतमले बजेट संघीय सरकारको भएता पनि निर्माणको काममा इटहरी उपमहानगरले सक्रियता देखाएर काम गरेको बताइन् । संघीय सरकारले दिएको बजेटमा पनि कतिपय स्थानीय निकायले काम गरेका छैनन्, तर हामीले काम गरेर जनतालाई सेवा दिने व्यावस्था मिलाएका छौँ । उपमेयर गौतमले प्रदेश पोर्टलसँग भनिन् ।