इटहरीः नेपाल राष्ट्र बैंकले स्वदेशमा गरिने आन्तरिक विप्रेषण कारोबारमा एक दिनमा एक व्यक्तिले धेरैमा २५ हजार रुपैयाँ सम्ममात्रै रकम पठाउन अथवा पाउन सक्ने व्यावस्था गरेको छ ।

यसअघि एक जनाले एक दिनमा एउटा कारोबारबाट एक लाख रुपैँया सम्म रकम पठाउन वा पाउन सक्ने व्यावस्था थियो ।नयाँ व्यवस्था भएसँगै स्वदेशमा रकम स्थानान्तरण गर्दा एउटा कम्पनीको एजेन्टबाट एक दिनमा २५ हजार भन्दा बढि रकम पठाउन पाइनेछैन तर विदेशबाट पठाइने रेमिट्यान्समा भने पहिलेकै व्यवस्था लागु हुने नेपाल राष्ट्र बैंकले बताएको छ ।

विदेशबाट आउने रेमिट्यान्समा १ लाख भन्दा सानो रकम नगद नै निकाल्न सकिन्छ भने सो भन्दा ठुलो रकम लिन बैंकमा अनिवार्य खाता रहेको हुनुपर्छ । एक लाख सम्म एक दिनमा लिन सकिने र बाँकी पैसा सोही खातामा राख्न सकिने व्यवस्था छ ।

विदेशबाट अवैधानिक रुपमा आउने हुण्डीको रकम स्वदेशमा विभिन्न व्यक्तिहरुले रेमिट्यान्स एजेन्टको प्रयोग गरी आन्तरिक विप्रेसण गर्ने भएकाले त्यसलाई घटाउन राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको आंकलन गरिएको छ ।