उर्लाबारीः प्रहरी आए नआएको सूचनाका लागि आफ्नै घरमा सिसी टिभी जडान गरेर नेकपा एमाले उर्लाबारीका नेता कृष्ण प्रधानले व्यवसायीक रुपमै जुवा खेलाउने गरेको रहस्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सुराकी पाएपछि उर्लाबारी–७ स्थित प्रधानको घरमा पुगेको प्रहरी चकित पर्यो । ‘घरमा कोही व्यक्ति आउँन सक्ने भएकोले त्यसको निगरानी राख्न सिसी टिभी पनि जडान गरेको पाइयो ।’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘प्रहरीले उनको घरमा छापा हान्दा पनि सिसी टिभी खुल्ला रहेको पाइएको थियो ।’

लामो समयदेखि प्रधानले घरमै जुवा खेलाउने गरेको पाइएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी– ७ मा वडाध्यक्षमा उठेका थिए । उनी पराजित भएका थिए ।


को को परे त प्रहरी फन्दामा

नेकपा एमाले उर्लाबारीका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा बुधबार साझ प्रधानसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी–५ का कमल शाक्य, उर्लाबारी– १ का कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

पक्राउ परेका जवाडेलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेको छ । प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेलाई इप्रका उर्लाबारीले जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार म्याद थप गरि अनुसन्धान गर्ने भएको छ । बिहीबार सार्वजानिक विदा भएकोले प्रहरीले शुक्रबार मोरङ प्रशासनमा जुवा मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ ।