इटहरीः धरान स्थित न्यु कान्तिपुर गेष्ट हाउसमा मृत फेला परेकी इटहरी फुलबारी टोल बस्दै आएकी महिलासँगै बसेका पुरुषको पहिचान खुलेको धरान प्रहरीले बताएको छ ।

२ दिन देखि सो गेष्ट हाउसमा रहेकी महिलाको शव गेष्ट हाउसको कोठामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा इटहरी बस्ने सुमित्रा तामाङ्ग एक पुरुष सहित धरानको बुद्धचोक स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा बस्दै आएकी थिइन् ।

प्रहरीले बुधबार सम्मको अनुसन्धानबाट सँगै बस्ने पुरुषको पहिचान खुलेको र उनको खोजीकार्य भइरहेको बताएको छ । पुरुषको सम्पूर्ण जानकारी प्रहरीले पाउन सफल भएको इलाका प्रहरी कार्यालय धरानको भनाई छ । जानकारी पाएको भने पनि पक्राउ नपरुन्जेल सम्म प्रहरीले उनको विवरण भने सार्वजनिक गरेको छैन् ।

ती पुरुष केही दिन अघि इटहरी–५ तुलसा टोलमा डेरा गरी बस्ने सुमित्रा तामाङ सँग सो गेष्ट हाउसमा बसेका थिए । मंगलबार बिहान सुमित्रा शव फेला परेको थियो भने पुरुष अहिले सम्म भेटिएका छैनन् । मृतकको टाउको र शरिरमा चोट देखिएको प्रहरीको भनाई छ ।

तामाङसँगै होटलमा बस्न आएका पुरुष होटलबाट फरार रहेको र चोट समेत देखिएकोले उनलेनै हत्या गरेको भन्दै मंगलबार देखि नै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, सङ्घीय इकाई प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआईटीको समूहले अनुसन्धान तथा खोज तलास गरिरहेको छ ।

मृतक तामाङको स्थायी ठेगाना भने पाँचथरको मिक्लाजुङ–१ हो भने उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेका छन् । मृतक महिला उनी ४–५ वर्ष देखि इटहरी बस्दै आएको बताइएको छ । उनका छोरा छोरीबाट उनको पहिचान खुल्लन प्रहरी सफल भएको थियो ।