इटहरीः प्रदेश नम्बर एकमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले शेर्पा समुदायले मनाउने पर्व ग्याल्वो ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले बिहिबार एक शुभकामना सन्देश मार्फत शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसारको सुखद अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने ग्याल्वो ल्होसार सांस्कृतिक पर्व भएको भन्दै राइले प्रकृति पूजक शेर्पाहरू ग्याल्पो ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्ने र ल्होसारका दिन यो समुदायमा आफन्त, नातागोता, इष्टमित्र र घरगाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्ने, मिठोमसिनो खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गर्ने चलन भएको स्पष्ट पारेका छन् ।

पर्वको अवसरमा घरआँगन तथा घरको छतलगायत गुम्बा, चैत्यहरूमा भएका पुराना ध्वजाहरू आजको दिन हटाएर नयाँ ध्वजाहरू राखिने र विभिन्न मन्त्रहरू लेखिएका कपडाका यी ध्वजाहरू हिमाली हावाले हल्लाउँदा एकखालको संगीतमय भाव सिर्जना हुने र ध्वजाहरू संसारभरि शान्तिको एउटा अद्वितीय कामनाका लागि फर्फराउँछन् भन्ने जनविश्वास भएको औल्याएका छन् ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ र यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको अवस्थामा विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनेको राइले बताएका छन् ।

“हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा ग्याल्पो ल्होसारका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ” मुख्यमन्त्री द्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।