इटहरीः नेपाल प्रेस युनियन सुनसरीले यहाँका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ ।

बिहीबार इटहरीमा आयोजना गरिएको शिविरमा १४० जना लाभान्वित भएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । ‘प्रत्यक्ष रूपमा आँखा र कानले धेरै महत्वपूर्ण काम गर्ने भएकाले यो शिविर आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘पत्रकार र उनीहरूका परिवारको निःशुल्क शिविर राखिएको हो ।’

उनका अनुसार विश्व श्रवण दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । परीक्षणमा समस्या भएकालाई निःशुल्क चस्मा तथा औषधि वितरण समेत गरिएको थियो । पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले युनियले पत्रकारहरूका लागि यस्ता किसिमका शिविर आयोजना गर्नु सराहनीय रहेको तर्क राखे । ‘पत्रकारहरूलाई नै लक्षित गरेर यस्ता किसिमका शिविर आयोजना गर्नु अतुलनीय काम हो,’ सुब्बाले भने, ‘विराटनगरको रानीमा रहेको आँखा अस्पताल भएकै कारण म धरानबाट इटहरी आएको हुँ, यो सकारात्मक काम हो ।’

IMG_0481

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष गिरीराज आचार्य, कृष्णविनोद लम्साल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतले उक्त कार्यक्रमको आयोजना गर्नु उदाहरणीय कार्य रहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका कुमार प्रितुले विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए । उनले भने, ‘हामीकहाँ विभिन्न बाहिरी देशबाट जाँचका लागि आउनुहुन्छ, तर शिविरकै रूपमा भने पहिलोपटक सञ्चारकर्मीहरूको शिविर राखिएको हो ।’

उनका अनुसार सञ्चारकर्मीहरूले धेरैजसो समय कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता प्रविधिमा समय दिने भएकाले यसले दीर्घकालीन असर समेत पर्ने भएकाले वर्षमा एकपटक आँखा तथा कान जाँच गराउन आवश्यक रहेको बताए ।
प्रेस युनियन सुनसरीले यसअघि कोरोना महामारीमा जिल्लाका सञ्चारकर्मीहरूको कोरोना बीमा, दुर्घटना बीमा, फुड बैँक सञ्चालन जस्ता कार्यक्रमको आयोजना गरिसकिएको युनियन सुनसरीका सचिव विवेक भट्टराईले बताए । उनका अनुसार केही साता अगाडि मात्रै यहाँका क्रियाशिल फोटो पत्रकारहरूलाई फोटोग्राफी सम्बन्धि तालिम समेत सञ्चालन गरिएको छ ।