इटहरीः संखुवासभा जिल्लाको शिङ्सा क्षेत्रबाट धरान झरेर यतै बसोबास गरिरहेका बौद्ध धर्मावलम्बीहरुले ल्होसार मनाएका छन् ।

शुक्रबार एक कार्यक्रमका वीच ल्होसार कार्यक्रम सम्पन्न गरिनुका साथै गुम्बा निर्माणमा सहयोग गर्ने दाताहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरिरहेकी प्रदेश नम्बर १ का सांसद उमिता बराईलीले यस समुदायले शुरूवात गरेको लक्ष्य लिएको गुम्बा निर्माण कार्यको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको भन्दै दशैमा सार्वजनिक बिदा दिए जस्तै लोसर लगायत आदिवासीको चाडपर्वमा सार्वजनिक बिदा दिए सबैले यो देश आफ्नो भएको अपनत्व हुने बताइन् । सांसद बराईलीको पहलमा सांसद विकास कोषबाट गुम्बाको लागि ७ लाख बजेट विनियोजन गरिएको थियो ।

1646312352714

शुभकामना आदानप्रदान कार्यक्रममा धरान उपमहानगरपालिका १५ नम्बर वडा समितिको अध्यक्ष नरेश इवारमले गुम्बा निर्माण भवन निर्माणको लागि आवश्यक सक्दो गरेको बताए । वडा समितिले गुम्बाको लागि दुई लाख र सामुदायिक भवनको लागि दुई लाख सहयोग यस अघि गराईसकेको बताईएको छ ।

नेकपा माओबादी केन्द्रका नेता आइन्द्र बिक्रम बेघाले गुम्बाको लागि पार्टी मार्फत सक्दो पहल गर्ने बताएका थिए । सरकारले चालू आर्थिक वर्षमा गुम्बाको लागि अर्थ मन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मा मार्फत ६० लाख स्वीकृत गरेको भएता पनि विशेष कारणबस ३० लाख मात्र सुनिश्चित भएको बेघाले बताएका छन् ।

कार्यक्रममा संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलाका समुदायको लागि स्वास्थ्य सेवा सहयोग पु¥याएको भन्दै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका धरानका डेपुटी डाइरेक्टर विकास साहलाई सम्मान गरिएको थियो भने भने गुम्बा निर्माणको लागि १० हजार सम्म आर्थिक सहयोग गर्ने सुरज राई धरान ४,उद्धव लिम्बू धरान ११,अशोक राई धरान ११,धनकुमार राई धरान ५ ,पिम्ब छिरिङ भोटे भोटखोला ४ संखुवासभा,ङिमातेन्जिन भोटे भोटखोला २ संखुवासभा सहितको ब्यक्तीलाई सम्मान गरिएको थियो । त्यसैगरी गुम्बा र समाज भवन परिसरमा ३२ हजारको लागतमा खानेपानी धारा जडान गरिदिएको भन्दै गुम्बाका सचीव निमा पोङ्स्युवा र रिनेन लामालाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।

1646312352914

गुम्बा निर्मानको लागि स्थानीय समाजसेवी सर्वजित राईले २५ हजार दिने प्रतिबद्धता जनाए । त्यसैगरी कार्यक्रममा विभिन्न ब्यक्तिले गुम्बा निर्माण कार्यमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भेलाले कार्यक्रममा अर्को वर्षदेखी एकजना पत्रकार लेखकलाई बार्षिक रुपमा ५ हजारको पुरस्कार प्रदान गर्ने र संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलामा रहेका अरुणोदय माबीमा अध्ययनरत दुईजना छात्रछात्रलाई ५–५ हजार छात्रवृत्ति प्रदान गर्न घोषणा गरेको छ ।