इटहरीः प्रदेश नम्बर एकको झापामा मोफसलकै लोकप्रिय र प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाल आइस पाँचौं झापा गोल्डकप, २०७८ को तयारी सकिएको आयोजकले बताएका छन् ।

झापाको विर्तामोडमा रहेको डोमालाल रङ्गशालामा सञ्चालन हुने गोल्ड कप फुटवल प्रतियोगितामा भारतका दुई सहित १० टिमको सहभागिता रहने आयोजकले बताएका छन् । फुटवल प्रतियोगिता भोलि २१ फागुनदेखि ३० फागुनसम्म सञ्चालन हुने भएको छ ।

आयोजकले खेललाई भव्य र आकर्षक बनाउनका लागि जिल्लाभरमा स्वागत गेटहरु निर्माण गरेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।बिर्तामोड नगरपालिका आसपास मात्र एक दर्जन गेट बनाइएको गोल्डकप सञ्चालन समितिले बताएको छ ।

प्रतियोगितामा घरेलु टोली झापा–११ सहित ए डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्रीस्टार, सङ्कटा, सातादोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन् भने दुई टिम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किम छिमेकि राष्ट्रका छन् ।

‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रा शान’ भन्ने नारासहित सञ्चालन हुने पाँचौँ झापा गोल्डकपको औपचारिक मस्कटका रूपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल प्रहार गर्दै गरेको प्रतीकका रूपमा मस्कट निर्माण गरिएको छ ।

गोल्डकप विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार प्राप्त नगद पुरस्कार प्राप्त गर्ने गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार नगद प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ दिइने भएको छ ।