इटहरीः इटहरीका अटो व्यवसायी प्रदिप सन्थलियाले प्रहरीलाई एक थान विद्युतीय अटो सुक्रबार प्रदान गरेका छन् ।
सुनसरीको इटहरी उप महानगरपालिका ६ मा उनले संचालन गर्दै आएको अटो सिटि बजाज सोरुममार्फत प्रहरीलाई विद्युतीय अटो प्रहरीलाई प्रदान गरेका हुन् ।

उनले सोरुममै एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप उनले ९ सिट क्षमता भएको १ थान विद्युतीय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई प्रदान गरे ।

उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ती पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ ।

अटो प्रदान कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, उद्योग वाणिज्य संघ इटहरीका प्रतिनिधि, इटहरीका व्यवसायीहरु बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानीय समेतको उपस्थिति रहेको थियो ।