इटहरीः समाज स्वार्थी छ, फाईदाको लागि अगाडी बढ्छ, भन्न त संसार सबै स्वार्थी छ र त्यो संसारमा रहेका सबै सजिवहरु स्वार्थी छन् भनिन्छ तर इटहरीका बाबुराम प्रधानमा त्यस्तो स्वार्थ देखिएन् । उमरले आधा शतक काटेका बाबुराम रगतको अभावमा कोही पनि नमरोस् भन्ने अभियान नै लिएर हिडेका निस्वार्थी मानव हुन् । हामीले यो स्टोरी तयार गर्दा सम्म बाबुराम प्रधानले १ सय १७ पटक रत्तदान गरिसकेका छन् । एक सय सत्र पटक सम्मको रत्तदानले धेरैलाई जीवन दान दियो तर उनको अभियान अझै जारी नै छ ।

जीवन, संघर्ष र सफलताको कथा संकलन गर्ने क्रममा हामीले बाबुरामलाई इटहरी नजिकै मोरङ्गको बलियामा भेट्यौँ । सात जना दाजुभाईमा माइला बाबुराम २०२७ सालमा इटहरी उपमहानगर पालिका वडा नम्बर ३ बौकाझोडामा जन्मिएका हुन् । इटहरी ३ मा रहेको सरस्वती माविमा कक्षा ६ र बाँकी इटहरीको जनता माविबाट एसएलसी सम्मको अध्ययन गरेका बाबुरामले पढ्नको लागि जनता क्याम्पसमा केही समय आईए पनि पढे, तर निरन्तरता दिन भने सकेनन् ।

सामान्य किसान परिवारमा जन्मिएका बाबुरामको परिवारले पछि इटहरीमा होटल व्यवसाय पनि गर्यो । इटहरीको चोकै नजिक दिपक होटल थियो बाबुरामको परिवारले चलाएको । आफ्नो होटल हुँदा फोरेन ड्राइभिङ्ग सेन्टरका सञ्चालक नारायण बजगाँई खाजा नास्त ागर्न आइरहन्थे उनको होटलमा । उनैको हौसलामा सवारीको लाइसेन्स लिएको र गाडी लाईनको यात्रा तय गरेको बाबुरामले बताए । वास्तवमै आफ्नो जीवनलाई आजको अवस्थामा ल्याउन आफ्नो प्रेरणाको स्रोत नारायण बजगाँई रहेको बाबुरामको भनाई छ । आफुलाई प्राविधिक बन्ने चाहाना थियो, बाबुरामको । मोटर, फ्रिज बनाउने तालिम नै पनि लिएका थिए बाबुरामले तर उनको लेखिएको भाग्य मेटिनेकुरा भएन् ।

46508546_902467379945405_928702212933156864_n

नेकपा एमालेका नेता लालबाबु पण्डित सुकुम्बासी आयोग मोरङ्गको अध्यक्ष हुँदा उनको गाडी चलाएर उनिसँगै हिँडे बाबुराम । हरेक ठाउँमा इमान्दारिताको कदर हुन्छ । बाबुरामको इमान्दारिताको कदर त्यहाँ पनि भयो । लालबाबु पण्डितको निजि सवारी चालक हुँदा कुनै बेला आफ्नो मालिकलाई आक्रमण गर्नेहरुलाई कुटेर भगाएको स्मरण पनि ताजै छ बाबुरामको मनस्पटलमा आज पनि । पछि आफुलाई सम्मानका साथ अर्को जागिरको अफर पनि आएको तर जागिरमा आफुलाई रुचि नभएका कारण आफ्नै केही गर्नुपर्छ भनेर बाबुरामले आफ्नै गाडी किन्ने योजना बनाए ।

छोटो समय जागिर खाएर कमाएको केही रकम र इटहरी निवासी अशोक सिटौलाबाट एक लाख रुपैया ऋण पाएपछि २ लाख ८० हजारमा एक पटक प्रयोग भईसकेको सेकेण्ड ह्याण्ड गाडी खरिद गरे बाबुरामले । आफ्नै गाडी किनेपछि ट्याक्सिको रुपमा चलाउँदै जीवनमा सफलता खोज्दै हिड्ने बाबुराम आज त्यहि गाडीबाटै सफलताको ठुलो सिढी चढेका छन् ।

झण्डै एक दशक त ट्याक्सि चलाएरै बित्यो बाबुरामको जीवनकाल । पछि आफै ड्राइभिङ्ग स्कुल खोलेर अरुलाई प्रशिक्षण गराउँदै हिड्ने रहर जाग्यो उनलाई । मान्छेका सबै रहरहरु पुरा हुदैनन् । बाबुरामको रहरलाई पुरा गर्न इटहरी कै यादव पौडेलले साथ दिए , अर्थात बाबुरामले यादवबाट अण्डरग्राउण्ड ड्राइभिङ्ग टेनिङ्ग सेन्टर किनेर चलाउँन थाले , २०५७ सालबाट । पहिला बाबुरामको अण्डरग्राउण्ड इटहरी बजारमै थियो । पछि सिक्ने र सिकाउने ठाउँ अर्थात फिल्ड पनि चाहियो त्यहि भएर बुढिगंगा मुक्तिधामको पारिपट्टि सुन्दरहरैंचाको बलियामा सारेका छन् बाबुरामले ।

93056354_1258019384390201_8378758888370995200_n

बाबुरामले दुई दशक पहिले शुरु गरेको अण्डरग्राउण्ड त्यहि २ लाख ८० हजारबाट सुरु भएको यात्रा थियो । पछि स्कुल सुरुगर्ने बेलामा ४ देखि ५ लाख लगानीभएको बाबुराम बताउँछन् । आजसम्मको हिसाव गर्ने हो भने बाबुरामले ५० हजारको हाराहारीमा जनशत्ति उत्पादन गरिसकेका छन् । उनले सीप सिकाएकाहरु आज देशमा मात्रै नभएर विदेशमा गएर पनि देशलाई रेमिट्यान्स ठेलिरहेका छन् । ड्राईभिङ सीप सिकाउने गुरु हुन् बाबुराम जसले जीवनलाई उपयोगी हुने सीप सिकाए । बेरोजगारको समस्याले थिलो थिलो भएको वर्गले आफ्नो सीप अनुसारको रोजगारी पायो त्यो ठुलो योगदान हो, राष्ट्रका लागि ।

पुर्वका पहाडी जिल्लाहरु भोजपुर संखुवासभा, इलाम, ताप्लेजुङ देखि लिएर पुर्वका धेरैले बाबुरामको अण्डरग्राउण्ड ड्राइभिङ्गबाट सीप सिकेका छन् । आफुकहाँ भारतबाट समेत सवारी चालकको सीप सिक्नका लागि मान्छे आएको बाबुराम स्मरण गर्छन् । कुनै बेला डेढ सय देखि दुइ सय सम्मलाई मासिक रुपमा सवारी चालकको तालिम दिने बाबुरामको अण्डरग्राउण्डले अहिले पनि औसतमा मासिक ३० देखि ४० जनालाई सीप सिकाउँदै आएको छ । सवारीमै ३० बर्ष भन्दा लामो समय बिताएकोले उनि विश्वासिला प्रशिक्षक हुन् । हरेक व्यपारमा इमान्दारिता हुनुपर्ने विचार राख्ने बाबुरामको स्कुलमा अहिले पनि ७ जना प्रशिक्षकहरु छन् ।

स्कुटर, मोटरसाईकल, कार, डेलिभरी भ्यानका साथै हेवी सवारीको समेत तालिम दिने अण्डरग्राउण्ड ड्राइभिङ्ग स्कुलले आफुले सिकाएकाहरु ८० प्रतिशत पहिलो ट्राइलमै लाइसेन्स पाउन सफल हुने गरेको बाबुरामको भनाई छ । सामान्यतया एउटा फ्रेस व्यक्तिलाई सरकारी मापदण्ड सहितको तालिम लिन ३ महिना लाग्छ धेरैले ३ महिनाभित्रै दक्ष बनेर लाइसेन्स लिन सक्छन, यदाकदा कसैकसैलाई समय पनि लाग्न सक्छ सबैको सिक्न सक्ने क्षमता बराबरी नहुने हुँदा कसैकसैलाई लामो समय लाग्न सक्ने प्रधानको भनाई छ । विश्व प्रविधिमैत्री भइरहेका बेला मोवाईलमा काररेस खेल्ने बानी परेकाहरुलाई सिक्न सहज हुने गरेको उदाहरण पनि बाबुरामसँग छ । सवारी चालकको तालिम दिन उनले उच्चकोटीको आफ्नै फिल्ड निर्माण गरेका छन् । अहिले त्यहि फिल्डलाई सरकारी मापदण्ड अनुसार नै निर्माण गरि काम गरिरहेको उनले हामीलाई सुनाए ।

36449450_806514152874062_8477157491065487360_n

गृहणीहरुलाई लक्षित गर्दै बच्चा लिएर सवारी सिक्न आउनेहरुका लागि बच्चा खेल्ने पार्क सहितको फिल्ड निर्माण भइरहेको प्रधान बताउँछन् । हरेक पेशामा विश्वास र सेवा पेशालाई टिकाइराख्ने मन्त्र हो , अण्डरग्राउण्डलाई यहाँ सम्म ल्याउन बाबुरामको सिकाउने शैली पनि महत्वपुर्ण छ । आफुले मोटरसाईकल देख्दै डराउनेहरुलाई समेत सिकाएर लाईसेन्स लिने अवस्थामा पुर्याएको बाबुरामले बताउन भुलेनन् ।

इमान्दारिताको पेशाबाटै जिन्दगीको सेफ ल्याण्डिङ्ग अर्थात सुरक्षित अवतरण गराईसकेका बाबुराम अहिले व्यावसायहरु व्यावसाय जस्तो नहुँदा दुःख व्यक्त गर्छन् । सीपमुलक तालिमहरुमा मेहनत र इमान्दारिताका साथै सेवा पनि गुणस्तरीय हुनुपर्ने बाबुराम बताउँछन् । निरन्तर लागिसकेपछि सफलताले आफैँलाई पछ्याउँछ भन्ने धारणा राख्ने बाबुराम प्रधान आजसम्म कसैले आफुलाई औला ठड्याउने अवस्था नआउनुमा भने गर्व गर्छन् ।

जिन्दगीलाई सृष्टिकै अनुपम उपहारको रुपमा सम्झिने बाबुराम हिजोको परिस्थिती सम्झिँदा आफुलाई एक हिसावले सफल भएको बताउँछन् । सफलताको कडी मेहनत, धर्यता र इमानदारिता नै हो । व्यवसायमा पनि प्रतिस्पर्धा हुन्छ भने त्यहाँ इमानदारिता हुन एकदमै जरुरी हुन्छ । व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएमा त्यहाँ गुणस्तरीय सेवा पाइन्छ ।

हरेक सफल व्यक्तिहरुले सर्घर्ष अर्थात हर्कत गर्नुपर्ने बाबुरामको बुझाई हामीले पायौँ । म विना केहि हुदैन् भन्ने घमण्ड कसैले गर्न नहुने विचार राख्ने बाबुराम इतिहासलाई भने सदैव जोगाइराख्न प्रतिवद्ध छन् । कुनै बेला इटहरी चौकमा रहेको स्वः पूर्व राजा वीरेन्द्रको शालिक तोडिँदै गर्दा आफुले त्यसको खवटाहरु सँकलन गरेर आफ्नो कलंकी स्थित घरमा संग्रहीत गरेर राखेका छन् । आफुले दुःख गरेर किनेको र १० बर्ष चलाएको बाबुरामको ट्याक्सि अहिले पनि उनको घरको छतमा सुरक्षित छ ।

52474340_950918668433609_7235256736670547968_n

इटहरी रेडक्रसको संचालक सदस्य साथै ड्राइभिङ्ग स्कुलहरुको छाता संगठनको प्रदेश एकका अध्यक्ष समेत रहेका बाबुरामले लोपोन्मुख जाति एक जना चेपाङ्गलाई समेत सवारी चालकको तालिम दिइसकेका छन । सेवा मुलक व्यावसयीले अव मौका पाएमा एक जना राउटे जातिलाई पनि खान बस्न सेवा सहित सवारी तालिम दिने र रोजगारी बनाउने योजना रहेको बाबुरामले सुनाए ।

बाबुराम आफ्नो व्यवसायसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । रक्तदान भनेपछि मरिहत्ते गर्ने उनि लामो समयदेखि रक्तदान कार्यमा संलग्न हुँदै आएका छन् । उनी सम्भवत इटहरी उपमहानगरभरी कै सबैभन्दा बढी रक्तदान गर्ने नागरिक भित्र पर्दछन् । उनले गरेको रगत दानले धेरैले नयाँ जीवन पाएका छन् । जसमा उनलाई ठूलो सन्तुष्टि मिल्ने गरेको छ । रगत दानसंगै अन्य समाजिक कार्यमा पनि उनि सक्रिय छन् । के समाजिक संघ संस्था, पार्टी, दुःख पाएकाहरु , विरामीहरुलाई खाली हात पठाएको उनलाई सायद थाहा नै छैन् ।