धरानः परिवर्तनका लागि सामाजिक अभियान धरानले हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकको एघारौं संस्करण शनिवार(आज) धरानको गीता भवनमा सम्पन्न भएको छ ।

मुटु, रक्तचाप र मधुमेहका ७० वर्षभन्दा माथिका बिरामीहरुलाई लक्षित गरि आयोजना गरिएको सो सामाजिक स्वास्थ्य क्लिनिक २ नं. वडा कार्यालय धरानको सहकार्यमा सम्पन्न भएको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार धरानका हरेक वडामा आयोजना गर्ने उद्देश्य राखिएको यो कार्यक्रम गत फागुन ७ गते धरान १८ नं. वडामा सम्पन्न भईसके पश्चात यसपल्ट वडा नं. २ मा सम्पन्न भएको बताए ।

अभियानद्वारा वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसंग समन्वय गरि आयोजना गरिएको उक्त सामाजिक स्वास्थ्य क्लिनिकमा जम्मा ७७ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । २ नं. वडाका अध्यक्ष माधव गोविन्द श्रेष्ठले यस्तो कार्यक्रमले वास्तवमै जनताको स्वास्थ्य स्थितिमा परिवर्तन र सचेतना ल्याउने बताए । श्रेष्ठले २ नं. वडा कार्यालयसंग सहकार्य गरि कार्यक्रम आयोजना गरेकोमा डा. साह एवम् आयोजक संस्थाप्रति पनि आभार व्यक्त गरे ।

अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त सामाजिक स्वास्थ्य क्लिनिकमा मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाल लगायत अभियन्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स रमला गुरागाईको समेत स्वास्थ्य जाँचमा सहभागिता रहेको थियो ।

1646479488114

बिरामीहरु धरानकै स्थानीय भएर पनि वी.पी. प्रतिष्ठानमा समयमा उपचार गराउन नआएकोमा डा. प्रशान्त साहले चिन्ता व्यक्त गरे । “अस्पताल नजिकै छ, तर पनि मुटुका बिरामीहरु एकडेढ वर्षसम्म पनि फलोअपमा आउन अप्ठ्यारो मान्नुहुन्छ” डा. साहले भने । यस्ता सामाजिक क्लिनिकमा भएपनि बिरामीहरु आउनुभएकोमा डा. साहले खुशी व्यक्त गर्दै भने “बिरामीहरु खानपानमा सचेत हुनु पर्छ र यस्तै सामाजिक क्लिनिकमा भएपनि फलोअप गर्नु साहै्र राम्रो कुुरा हो । ”

घरआँगनमै स्वास्थ्य जाँच गराउन पाएकोमा धरान–२ निवासी खजाञ्जीदास अग्रवालले खुशी समेत व्यक्त गरे भने उक्त कार्यक्रमको समापन समारोहमा वडा नं. २ का वडा सदस्य सन्ध्या श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिईन् ।

1646479356045