काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले सत्तारुढ दलहरू दुषित भएर गन्हाएको आरोप लगाएका छन् ।

संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले इलाम काठमाडौं सम्पर्क मञ्चको ९औँ सम्मेलनलाई सम्बोधन गर्दै उत्त आरोप लगाएका हुन् ।

विभिन्न संविधान बिरोधी क्रियाकलापहरुका कारण अहिलेको गठबन्धन सरकार दुषित भएको र त्यसैको कारण भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको उनले बताए । विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको आरोप लगाए ।

‘एक दिन अघिसम्म एमसीसी मरे पनि टेबुल हुन दिन्नौँ र पास पनि हुँदैन भन्ने साथीहरु नै भोलिपल्ट लुसुक्क जनतालाई झुक्याएर एमसीसी पास गर्ने लाज्जास्पद कार्य गरे ।’ नेम्वाङले थपे, ‘हाम्रा गठबन्धनका नेताहरुले लाजै पचाएर सभामुख र १४ जना संसद्को जागिर जोगाउन पनि एमसीसी पास गर्यौ भनेको सुन्दा यो भन्दा दुषित र लाजमर्दो कुरा केही होइन । आफ्नो स्वार्थ पुरा गर्न राष्ट्रघाति कदम चाल्न पछि नपर्ने यस्तो गठबन्धन सरकारलाई अब जनताले चुनावबाट जवाफ दिनुपर्छ ।’

उपाध्यक्ष नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् भन्दै प्रश्न पनि गरे । ‘केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । भरसक जनतामा जाने मिति पर सार्छन्,’ उनले भने, ‘बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

त्यस्तै कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय सभा सदस्य अगमप्रसाद बान्तवाले पनि गठबन्धन सरकारले अराजनीतिक र गैरसंवैधानिक कदम चालेको र विभिन्न राष्ट्रघाति कदम चालेको आरोप लगाए । बान्तवाले अबको चुनावबाट जनताले यस्ता राष्ट्र र राष्ट्रियताबिरोधीहरुलाई ठेगान लगाउनुपर्ने पनि बताए । प्रदेश नम्बर १ का १४ जिल्लाका सम्पर्क मञ्चहरुहरुबीचको फुटसल प्रतियोगितामा प्रथम हुने इलाम काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधि खेलाडीहरुलाई सम्मान गरियो ।