रामधुनीः सुनसरीको बराहक्षेत्र स्थित चताराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबर्जस्ती करणीको मुद्धा आज( बुधबार) सुनुवाई हुने भएको छ ।

अदालतले वेबसाइटमा राखेको सूचना अनुसार गिरीविरुद्धको मुद्धा उच्च अदालत विराटनगरले बुधबार सुनुवाई गर्ने भएको हो ।गिरीले एक भक्तालु महिलामाथि करणी गरेको भन्दै परेको जाहेरीमा सुनसरी जिल्ला अदालतले ‘सहमतिमा यौन सम्बन्ध राखेको’ फैसला गरेको थियो ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा ‘सहमतिमा यौन सम्बन्ध राखेको’ पुष्टि गरिदिएपछि पीडित भनिएकी महिलाले आफुमाथि करणी नै भएको दाबी गर्दै उच्च अदालत पुगेको थिइन भने सिद्धबाबा भनिने गिरी जिल्ला अदालतको फैसलाले आफ्नो ‘ब्रम्मचार्य’ तोडिदिएको भन्दै उच्च अदालत पुगेका थिए ।दुवै पक्षको पुनरावेदन मुद्दालाई एकै ठाउँमा राखेर उच्च अदालतले सुनुवाइ गरिरहेको छ ।

गिरीले आफुलाई ‘बाल ब्रह्मचारी’ भएको दाबी गर्दै आएका छन् । उनै ‘बाल ब्रह्मचारी’ दाबी गर्ने धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै एक २६ वर्षीय भक्तालु महिलाले गिरीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

त्यहि मुद्धाको सुनुवाई गर्दै सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ‘सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको’ भन्दै २०७७ मङ्सिर २२ गते फैसला सुनाएका थिए ।

तर, पिडीत भनिएकी भक्तालु महिलाले आफूलाई अनुचित प्रभावमा पारेर बलात्कार गरेको भन्दै गिरीलाई सजाय हुनुपर्ने माग गरेकी छिन् । उनले जिल्ला अदालतबाट आफु अन्यायमा परेकाले उच्चमा जिल्ला अदालत निर्णय विरुद्ध मुद्धा दर्ता गराएकी थिइन् ।

उच्चकै आदेशमा सिद्धबाबा नाम गरेका कृष्णबहादुर गिरी केही महिना जेल परेका थिए । धरौटीमा रिहा भएपछि उनि विरुद्ध पुनः उच्चमा मुद्धा दर्ता गरिएको हो ।

उनलाई कानूनी कार्वाही गर्न र पिडितलाई न्याय दिलाउन महिला आधारशिला लगायत सुनसरीका बिभिन्न महिला अधिकारवादी संघ संस्थाहरुले जिल्ला अदालतमा धर्ना , नारावाजी लगायतका दवावमुलक कार्यक्रम समेत गरेका थिए ।

उच्च अदालतबाट पिडित महिलाले न्याय पाउने गरि फैसला हुने आफु आशावादी भएको महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताएकी छन् । पिडित महिलाको पक्षबाट अधिकारको क्षेत्रमा कार्यगरिरहेको ओरेक नेपाल विराटनगरले आवश्यक कानूनी सहयोग गरिरहेको छ ।

यथेष्ठ प्रमाण हुँदा हुँदै सिद्धबाबालाई अदालतले उन्मुक्ति दिने खालको फैसला नगर्ला भन्ने आफुलाई लागेको प्रोत्साहान नेपालकी अध्यक्ष योशा गुरागाईले बताइन् ।