रामधुनीः अदालतबाट ‘ब्रम्मचारी’ बन्ने कसरथामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दाको अर्को पेशी चैत १५ गतेका लागि तोकिएको छ ।

गिरीविरुद्ध उच्च अदालत बिराटनगरमा रहेको मुद्दामा बुधबार पेशी तोकिएको थियो । तर, मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठले ‘हेर्न नमिल्ने’ भएपछि उच्च अदालतले चैत १५ गतेका लागि अर्को पेसी तोकिएको हो ।

बुधबार रहेको मुद्दाको पेशीमा गोलाप्रथा भएको थियो । मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको इजलासमा पर्यो । तर न्यायाधीश श्रेष्ठले यसअघि गिरीलाई सुनसरी जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पूर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएका थिए । त्यसैले उनले आफुले हेर्न नमिल्ने भन्दै बुधबारको सुनुवाईमा आफु बाहेकको इजलाशमा मुद्दा पेस गर्न आदेश गरेका हुन् ।

मुख्य न्यायाधीशले आफूबाहेकको इजलासमा पेस गर्नु भनेपछि मुद्दाको अर्को पेसी चैत १५ का लागि तोकिएको उच्च अदालत विराटनगर सूचना अधिकारी ओमराज सुवेदीले प्रदेश पोर्टललाई बताए ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा ‘सहमतिमा यौन सम्बन्ध राखेको’ पुष्टि गरिदिएपछि पीडित भनिएकी महिलाले आफुमाथि करणी नै भएको दाबी गर्दै उच्च अदालत पुगेको थिइन भने सिद्धबाबा भनिने गिरी जिल्ला अदालतको फैसलाले आफ्नो ‘ब्रम्मचार्य’ तोडिदिएको भन्दै उच्च अदालत पुगेका थिए । दुवै पक्षको पुनरावेदन मुद्दालाई एकै ठाउँमा राखेर उच्च अदालतले सुनुवाइ गरिरहेको छ ।