इटहरीः मोरङ्ग जिल्लाको टंकी सिनुवारीमा जन्मेका लेखक तथा राजनीतिकर्मी प्रकाश विकल्पलाई वागमती प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त गरिएको छ ।

बिहिबार बसेको वागमती सरकारको मन्त्री परिषद्को बैठकले विकल्पलाई वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको सल्लाहकारमा नियुक्त गरेको हो ।

विगत दुई दशक देखि काठमाण्डौमा बसेर राजनितिक र सामाजिक काम गरिरहेका प्रकाश विकल्प सानै उमेरदेखि इमान्दार र क्रियाशिल व्यत्तिको रुपमा चिनिन्छन् । प्रकाशले १४ बर्षको उमेरदेखि नै बिभिन्न क्लवहरुको नेतृत्व गरेका थिए । 

युवाहरु कस्तो हुनुपर्छ, कसरी अगाडी बढ्नु पर्छ ? अनि युवालाई कस्ता अवसरहरु दिइनुपर्छ ? भन्ने जस्ता प्रश्नहरुको सहज उत्तर हुन, प्रकाश विकल्प । जो २०६६ सालमा देशमा युवा नीति बन्दै गर्दा युवा निति मस्यौदा समितिमा समेत रहेर काम गरेका थिए ।

पछि प्रकाशलाई वागमती सरकारले आफ्नो युवा नीति बनाउँदा समेत समाजिक विकास मन्त्रालय मार्फत प्रादेशिक युवा नीति मस्यौदा निर्माण प्रमुख विज्ञको रुपमा नियुत्त गरेको थियो ।

त्यसबाहेक २०७७ सालमा वागमती प्रदेश सरकारको प्रदेश युवा परिषद् उपाध्यक्ष सिफारिस समिति – सदस्य, सुशासन महासंघ नेपालको २०७० सालदेखि हालसम्मै कार्यकारी सल्लाहकार, २०७२ सालमा सुशासन महासंघको केन्द्रिय अध्यक्ष,नयाँ शक्ति पार्टीमा रहँदा केन्द्रीय कार्यकारिणी सदस्य एवं विभागीय प्रमुख, संघ–संस्था विभाग जस्ता भुमिकामा रही सकेका प्रकाश युवा विज्ञका रुपमा चिनिन्छन् ।

प्रकाश २०६६ देखि २०७० सम्म युवा गैरसरकारी संस्था महासंघ नेपाल – केन्द्रीय अध्यक्ष, साथै २०६४ देखि २०६६ सम्म राष्ट्रिय युवा संगठन नेपाल – केन्द्रीय अध्यक्ष समेत रहिसकेका थिए ।

युवा सम्बन्धि गैह्र सरकारी संस्था युथ फिड्रेसनको अध्यक्ष साथै सोही संस्थाको सार्क राष्ट्र स्तरीय समितिको समेत २ बर्षे कार्यकालको अध्यक्ष बनिसकेका प्रकाश  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्यमा हालै मनोनित भएका व्यत्तित्व हुन् ।

बैज्ञानिक खोज र अनुसन्धानमा विश्वास राख्ने प्रकाश तथ्य र तथ्यांकमा आधारमा बोल्ने गर्छन् । राजनितिक रुपमा तत्कालिन अवस्थामा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका प्रकाश पछि नेकपा हुदै नेकपा टुटेपछि माओवादी केन्द्रमा आएका हुन् ।

नेकपा माओवादी केन्द्रले प्रकाशको विज्ञतालाई हेरेरनै स्थानीय तह हेर्ने समितिको उपप्रमुखको जिम्मेवारी दिएको छ । कुशल विज्ञ तथा खोज र अनुसन्धानमा लागेका विकल्पले अल्टरनेटिभ फाउण्डेसन नामक संस्थाको समेत नेतृत्व गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादिका नेता राजेन्द्र पाण्डेले नेतृत्व गरेको वागमती प्रदेशमा प्रकाश विकल्प जो नेकपा माओवादी केन्द्रका नेतालाई किन सल्लाहाकारमा नियुक्त गरियो ? त्यो पनि एउटा अध्ययनकै बिषय बन्न सक्छ । प्रकाशकै बुझाईमा भन्ने हो भने सातै प्रदेशका मुख्यमन्त्रीको भिडमा राजेन्द्र पाण्डे एक फरक सोचाई र बुझाईका मुख्यमन्त्री हुन् । प्राय मन्त्रीहरुले अलिक पढेलेखेका विज्ञलाई आफ्नो मन्त्रालयको सल्लाहाकारका रुपमा देख्न चाहादैनन् तर राजेन्द्र पाण्डेले समाजवादको सुरुवात स्थानीय पालिकाका वडाहरुबाटमात्रै सम्भव छ भन्ने कुरा बुझेका छन्, त्यहि भएर पनि प्रकाश विकल्प सल्लाहाकारको लागि मुख्यमन्त्रीका विकल्प बनेका हुन् ।

हरेक सरकार स्मार्ट सरकार हुनुपर्छ र त्यसले मात्रै देशलाई समृद्धिको दिशामा लान सक्छ भन्ने कुरामा विश्वास गर्ने विकल्प अव स्मार्ट सरकारको शुरुवात वागमती प्रदेशबाट गर्ने बताउँछन् ।

‘स्मार्ट सरकार’ बनाउने लक्ष्यअनुरूप मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघि सारेको वडातहसम्मको समाजवादी कार्यक्रम, प्रविधिमैत्री यातायात क्षेत्रलगायतका प्रदेश विकासका नविनतम कार्यक्रमलाई रणनीतिकरूपमा अघि बढाउन प्रकाशलाई सल्लाहाकारको रुपमा वागमती सरकारले नियुत्त गरेको बताइएको छ ।

प्रदेश पोर्टलसँगको कुराकानीमा प्रकाशले “आफूले पाएको जिम्मेवारी वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगको माध्यमद्वारा समाज रुपान्तरणमा प्रयोग गर्ने । ” बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधिसभा विघटन गर्दा त्यसको विरुद्धको संयुक्त आन्दोलन परिचालनमा उनी सचिवालय सदस्यमा थिए ।

आफ्नो नीजि वेवसाइटमा प्रकाशले आफु मरेपछि काम लाग्ने अंगहरु कसैलाई दिने इच्छा प्रकट गरेका छन् भने कुनै पनि धार्मिक ग्रन्थ अनुसार आफ्नो दाहसंस्कार र काजकिरिना नहोस भनेका छन् । ‘देश किन बनेन’, ‘समृद्धिको रोडम्याप’ लगायतका पुस्तक समेत लेखेका प्रकाशका विभिन्न राजनितिक आलेखहरु प्रकाशित भएका छन् । उनका विज्ञान सम्वत भिडियो अन्तरवार्ता टेलिभिजनका युटुब च्यानलहरुमा हेर्न र सुन्न सकिन्छ ।