इटहरीः मनले मान्छेलाई मोड्छ तर समय यति महान छ, समयले मनलाई पनि मोडिदिन्छ अनि मान्छेलाई पनि । समयको वहाव कसैले थेग्नै सक्दैन न त कव्जामा नै राख्न सक्छ । यो त चलिरहन्छ निरन्तर आफ्नै गतिमा । स्वर्गीय दशरथ घिमिरे र योगमाया घिमिरेको चाहाना आफ्नो कान्छो छोरो पण्डित बनोस् भन्ने थियो । पण्डित बन्ने लेखनाथ घिमिरेले आफ्नो पढाई धेरै जसो भारतको बनारस र धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयमा गरे ।

लेखनाथको बाल्यकाल र पुराण वाचन

विक्रम सम्बत २००२ साल माघ २७ गते ताप्लेजुङ्ग जिल्लाको तत्कालिन साँघु गाविस वडा नम्बर ८ हालको मौवाखोला गाउँपालिकाको ताम्राङमा जन्मेका घिमिरेको बाल्यकाल निकै कष्टमा बित्यो । कष्ट भन्नु गरिविमात्रै होइन भोगाई हो अनि संघर्ष हो ।

घरमै ज्योतिषी रहेका दाजुबाट अक्षारम्भ गरेका उनले बाल्यकालको पढाई गुरुकुलमा गरेका हुन् । घिमिरेकै भाषामा भन्दा त्यतिबेला अहिलेजस्तो औपचारिक शिक्षा पढाउने बिद्यालयहरु थिएनन्, गाउँमा जान्नेलाई गुरु राखिन्थ्यो र उनै गुरुको घरमै अथवा निश्चित स्थानमा गएर पढ्ने चलन थियो । लेखाई भन्दा पढाई धेरै हुन्थ्यो गुरुले दिएको पाठ कण्ठ गरेपछि अर्को पाठ दिइन्थ्यो । दिनहुँ नुहाउनु पर्ने , धोती , रुमाल धोएर सुकाउनु पर्ने जस्ता नित्यकर्मका कुराहरुमा गुरुले निगरानी राख्नु हुन्थ्यो । तिनै संस्कार र सभ्यतामा हुर्किएका हुन् घिमिरे । केटाकेटी उमेर भनौ ५/६ बर्षको हुँदा गोठमा सुत्नु पथ्र्यो , ब्राहमणको छोरो भएकाले हलो जोत्नु परेन तर बाँकी घरको धेरै काम गरेका छन् लेखनाथले ।

गुरुबाट सिकेरै चण्डी, रुद्रि, कौमुदी, अम्बरकोष, रघुवंश जस्ता विद्याका अध्ययनहरु घरमै गरेका थिए उनले । उमेर त्यस्तै १५ बर्ष जतिको हुँदा घरमै पुराण लगाइयो । छोराको मुखबाट पुराण सुन्दा मुक्ति पाइन्छ भन्ने प्रचलनकै कारण लेखनाथले पुराण बाचन समेत गरे आफ्ना पिता माताको लागि । एकादुई हुँदै उनलाई एकाहा पुराणहरुमा समेत वाचनका लागि बोलाउन थालियो ।

वनारस जाने कुराले आँसु खस्यो

मातापिताको ध्यय छोरालाई पण्डित बनाउनेमै जान्थ्यो । “मेरो छोरा पढोस् अनि राम्रो पण्डित बनोस्” भन्ने थियो । एकपटक त आमासँगै मावली जाँदै गर्दा वनारस तिरबाट आएका एक जना सुकिला मुकिला व्यत्तिलाई आमाले भेटेरै मेरो छोरालाई पढाइदिनु हजुरलाई घरमा पनि सघाउँछ भनेर त्यहीँ राखिदिनु भयोे । यति सुनाईरहँदा घिमिरे निकै भावुक बने, आँखाहरुले आन्दोलन गरे अनि रुमालको सहारा चाहियो ।

घिमिरेले ताप्लेजुङको भाषा पाठशाला बालसुभोदिनी सँस्कृत विद्यालयमा केहि समय प्रथमा अध्ययन गरे । पछि गाउँकै कुमानाथ गौतम, नाताले दाजुको साथमा पढ्नकै लागि भारतको लिन्से गएका थिए लेखनाथ । किशोराअवस्थामा जोगवनी हुँदै रेल चढेर सिलिगुढी अनि टिष्टा नदि तरेर कालिम्पोङ्ग हुदै लिन्से पुगेको ताजा याद मेटिन गाह्रो छ ।

खाना खानुपुर्व धोती फेर्नुपर्ने, ठुलो बाक्लो टुप्पी राख्नुपर्ने चलन थियो घरमा, तर त्यहाँ त्यो चलन मासिदै गएको रहेछ । उनले त्यहाँ धोती फेर्नुपरेन् । लिन्से गएको केही समयपछि लेखनाथलाई ज्वरो आयो । निकै दिन ज्वरोले थला परेपछि धाईआमाले उनलाई स्याहार सुसार गर्नुभएछ ठुलो टुप्पि भएकाले पनि बिरामी भएको हुन सक्ने भन्दै लेखनाथको टुप्पि सानो पारिएको थियो । संयोग भनौ या वास्तविकता ज्वरो निको भएको थियो त्यसपछि । निकै आफन्त र गाउँका साथीभाईहरु वनारसमा थिए ।

हिन्दी भाषामा वनारसबाट लिन्सेमा चिठ्ठी पुग्यो । त्यहाँको रहनसहन चालचलन समेटिएको पुगेको चिठ्ठीले लेखनाथलाई पनि वनारस बोलाएको थियो । चन्चले उमेर किशोरावस्था, मन उडिहाल्यो त्यसपछि आफुलाई ल्याउने दाजु कुमानाथलाई भनेर लेखनाथ वनारसतिर हाँकिए । वनारसको बसाई उपलव्धिमुलक रहेको उनको बुझाई छ । त्यहीको गुरुनानक संस्कृत महाविद्यालयबाट घिमिरेले प्रथमाको पुर्ण अध्ययन गर्न भ्याए । प्रथमाको जाँच दिएर ताप्लेजुङ्ग आएका लेखनाथलाई आफु उत्तिर्ण भएको खवर चिठ्ठीमा आएको थियो वनारसबाट । त्यो खुसीको रात थियो उनका लागि । उत्तिर्ण भएपछि फेरी उहीँ पढ्न जाने तरखर गरे लेखनाथले । गाउँकै नारायण गौतमलाई उकासे र पुनः वनारस गएर पुर्व मध्यमाको अध्ययन गरे प्रथम श्रेणीमा पुर्व मध्यमा पनि गुरुनानक संस्कृत महाविद्यालयबाटै सकाएपछि नेपाल आए लेखनाथ ।

उनका दाजु हरिप्रसाद घिमिरे इटहरीको बौकामा झोडा फाँडेर बसेका थिए उबेला । ज्योतिषि दाजुकै आडमा लेखनाथले धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयबाट उत्तरमध्यमा र शास्त्रीको पढाई पुरा गरे । धरानमा पढ्दै गर्दा शुरुको एक बर्ष पछि लेखनाथलाई छात्रवृति मिल्यो । घिमिरेकै भाषामा भन्दा छात्रवृति भनेको त्यतिबेला खान मात्रै दिने चलन थियो ।

धरान पढ्दा आयो राजनितिक चेत

धरानमा पढ्दै गर्दा आफुमा राजनितिक चेतना आएको उनि बताउछन् । बामपन्थी राजनितिमा झुकाव राख्ने उनि धरानको बसाईलाई निकै महत्वपुर्ण रुपमा हेर्छन्। मनमोहन अधिकारी जेलमुक्त भएको बेला उनि पिण्डेश्वरमै पढ्दै थिए । त्यहाँ घिमिरेलाई पुर्व कोशी प्रान्तीय कमिटिको सेल कमिटि सचिवको जिम्मेवारी समेत पाए ।

साहित्यमा शास्त्री सकाएपछि घिमिरे इटहरीको बौकातिरै बसे । त्यतिवेला एकादुई विद्यालयहरु खुल्न थालेका थिए, इटहरीमा । पढाई आवश्यक बन्दै गएको थियो सबैका लागि उबेला । अनि २०२५ सालतिर लेखनाथहरुकै सक्रियतामा इटहरी नगरपालिका वडा नम्बर ३ मा सरस्वती प्राथमिक विद्यालय खोलियो ।

सो विद्यालय खोलेपछि घिमिरेले त्यही बसेर अध्यापन पेशामा संलग्न भए । इटहरीमा जनता स्कुल खुलिसकेको थियो त्यहाँका शिक्षक प्रेम प्रसाद न्यौपाने कतै जाने भएपछि जनता स्कुलमा पनि ६ महिना जति पढाउने अवसर मिलेको थियो घिमिरेलाई । तत्कालिन सरस्वती प्राविबाट पढाउने पेशा सुरु गरेपछि आजसम्म त्यो पेशाले छाडेको छैन्, लेखनाथलाई ।

मोरङ तिरको शैक्षिक यात्रासंगै बढ्यो वामपन्थी राजनितिमा सक्रियता

२०२८ साल भदौबाट लेखनाथले मधुमल्लाको मनोहर जनता माविमा पढाउन थाले । त्यहाँ रहँदा पनि वामपन्थी राजनिति छदै थियो । मधुमल्लामा रहदा पनि घिमिरेलाई पार्टीले एरिया कमिटिको जिम्मेवारी दिइएको थियो । मधुमल्लामा रहदा विद्यालयको मुखपत्रको रुपमा मनोहर अभिव्यत्ति नामक पत्रिका निकालेका उनि त्यसको प्रमुख सम्पादकको भुमिकामा थिए । मधुमल्लामा ७ बर्ष अध्यापन गराएपछि २०३५ चैतमा उनलाई खनारमा रहेको शारदा माविमा सरुवा गराइएको थियो । मधुमल्लाबाट सरुवा हुदाँ त्यहाँका विद्यार्थी र अभिभावकले देखाएको प्रेम र सद्भाव घिमिरेको विर्सिनसक्नुको छ ।

मोरङबाट फेरी सुनसरी

वामपंथी राजनितिबाट देश र जनताको आवाज ओकल्ने घिमिरे तत्कालिन अवस्थामा बहुदलको वकालत गर्ने बामपन्थी थिए । खनारमा रहँदा घरपायक जागिरे जिवन विताइरहेका घिमिरेलाई दैनिक मधुमल्लाका विद्यार्थी र शिक्षकहरुका ५० को हाराहारीमा चिठ्ठी पत्र आउँथे । खनारमा रहँदा आफुले मकरन्द नामको विद्यालयको मुखपत्र साप्ताहिक रुपमा प्रकाशन गर्ने गरेको लेखनाथ सुनाउँछन् ।

खनारमै अध्यापन गराइरहेको समयमा बहुदलको वकालत गरेपछि जिल्लाका प्रमुख शिक्षा अधिकारीले घिमिरेलाई प्रकाशपुर सरुवा गराइदिए । संयोगै भनौ लेखनाथले खनारको शारदा मावि र प्रकाशपुर दुवैमा १ बर्ष ५ महिना २७ दिन का दरले अध्यापन गराए ।आफु वामपन्थी भएपनि केही पञ्चहरुलाई भनसुन गरेर इनरुवा स्थित भगवती माविमा सरुवा भएको थियो लेखनाथको ।

इनरुवा अर्थात जिल्लाको सदरमुकाम भएको नाताले निकै अवसर र जिम्मेवारीहरु बढेका थिए घिमिरेका । सेन्ट अफ टेष्टको कापी जाँच गर्ने देखि लिएर निकै महत्वपुर्ण काम गरेपछि सुनसरी बहुमुखी क्याम्पस इनरुवामा पनि अध्यापन गर्ने मौका मिलेको थियो, उनलाई । लेखनाथ जताजता जान्छन् त्यहाँको आवाज ओकल्ने मुखपत्र निकाली हाल्थे । भगवती माविमा रहदा भगवती बन्धना नामक पत्रिका निकालेका घिमिरे शिक्षालाई सेवासँग तुलना गर्छन् ।

आफ्नो अध्यापन पेशालाई निरन्तरता दिँदै गर्दा घिमिरेले २०४५ सालमा त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर सकाए । त्यसैवेला इटहरीमा पनि एउटा क्याम्पस चाहिन्छ भनेर आवाज उठाउनेमा लेखनाथ पनि एक हुन् । त्यही आवाजलाई बुलन्दगर्ने क्रममा इटहरीले पहिलो जनता क्याम्पस पायो । स्थापनाको ६ महिनापछि जनता क्याम्पसमा पनि अध्यापन गराउन सुरु गरेका उनले सोही क्याम्पसमा प्रधापक संघको सभापति बनेर तीन कार्यकाल विताए, लेखनाथले ।

सरसर्ती हेर्दा लेखनाथ घिमिरेको जिवनका धेरै बषन्तहरु नेतृत्व गरेरै वितेको देखिन्छ । सुनसरी बहुमुखी क्याम्पस र जनता बहुमुखी क्याम्पस गरेर १५ बर्ष कजेल अध्यापनमा बिताएका उनले वाम राजनितिमा नेकपा एमालेको कोशी अञ्चल सल्लाहकार परिषद्को सल्लाहाकार सदस्य हुँदै नेकपा हुँदाको प्रदेश एक कमिटिको समेत सल्लाहाकार समेत भएका थिए ।

यसरी जन्मियो विश्वआर्दश कलेज

आफु जनता बहुमुखी क्याम्पस इटहरी र भगवती मावि इनरुवामा अध्यापन गराउँदै गर्दा नै नीजि क्षेत्रबाट एउटा कलेज स्थापना गर्नुपर्छ भन्ने सोच आएपछि २०५५ सालमा इटहरीमा विश्व आदर्श कलेजको जन्म भयो । घिमिरे विश्व आदर्श जन्माउँदा देखिको संस्थापक अध्यक्ष हुन् लेखनाथ । विश्व आदर्शलाई पुर्वकै आदर्श बनाउन चुनौतीका निकै अग्ला पहाडहरु चढ्नु परेको उनि सुनाउछन् । स्थापना गर्दाका ताक आफु जनता क्याम्पसमा पनि चन्दा उठाउँदै हिडेको सम्झन्छन् तर माया दुवैको उत्तिकै थियो, विश्व आदर्श र जनता बहुमुखीको ।

कुरा काट्नेहरुले काटिरहन्थे हरेकको मुख थुन्न पनि त सकिदैन नि । त्यतिवेला लेखनाथको अग्रसरतामा स्थापना गरिएको विश्व आदर्शले पहिला कक्षा ११ र १२ मात्रै अध्यापन गराउँदथ्यो पछि स्नातक र अहिले डिग्रीसम्मै अध्यापन गराइरहेको छ । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति समेत उपलव्ध गराउने विश्वआदर्शलाई आदर्श शिक्षा प्रदायक संस्था बनाउन लेखनाथहरुले ठुलो भुमिका निर्वाह गरेका छन् ।

सरकारी शिक्षा संयन्त्रबाटै आफ्नो करियरलाई उकासेका घिमिरे आफु सरकारी शिक्षा प्रणाली सुधारकै पक्षमा रहेको दावी गर्छन् । हरेक पेशामा इमानदारिता हुनुपर्छ अहिलेको शिक्षा पेसामा जागिर बढि इमानदारिता कम छ । आखिर सरकारी विद्यालयमा राम्रो पढाई हुने भए मोटो रकम तिरेर निजी विद्यालय तथा कलेज खोज्ने पनि को नै हुँदो हो र ? पठनपाठन देन हो, योगदान हो, त्यो पेशा अंगालेबापत सरकारले तलव दिन्छ तर अहिलेको शिक्षकहरुको शैली हेर्ने हो भने जागिरे प्रवृति बढि देखिन्छ । यसको सुधार आवश्यक भएको घिमिरेले सुझाए ।

जिवनमुखि शिक्षा, अर्थात जिविकोपार्जन गर्न आवश्यक ज्ञान सहितको शिक्षा आजले खोजेको शिक्षा हो । त्यही जिवनउपयोगी शिक्षाको अभाव हुँदा हाम्रा युवाहरुले खाडी रोजे लेखनाथकै शव्द सापटी लिएर भन्ने हो भने नेपाललाई जडिबुटी जन्य शिक्षाको आवश्यकता छ । हामी अथाह जडिबुटीको धनी देश भएको हुनाले त्यस्तो शिक्षाले हामीलाई स्रोत परिचालनमा सीप दिन्छ ।

२०५५ सालबाट कलेज सुरु गरेको विश्व आदर्शले ढिला गरी ५ बर्ष पहिलाबाट मात्रै विश्वआदर्शकै नामबाट विद्यालय तहको पढाई समेत संचालन गरिरहेको छ । हुन त नलुकाई भन्ने हो भने कलेज संचालनको सम्पुर्ण खर्च विद्यार्थीबाटै आएको हुन्छ त्यसैबाट सरकारलाई मोटै रकम करबापत मिल्छ त्यतिमात्र नभएर विश्व आदर्श एक्लैले २ सय ६५ जनालाई रोजगारी दिएको छ, जसमा सामान्य तलव ११ हजार देखि सुरु भएर २ लाख सम्म खाने स्टाफहरु पालेको छ यो एउटा नीजि क्षेत्रले दिएको ठुलो उपलव्धि मान्नु पर्छ ।

कलेज बीचको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य

कुनै बेला इटहरीका कलेजहरुमा निकै अस्वस्थ प्रतिस्पर्धा थियो । कलेजहरु पर्चा पम्प्लेट टाँस्न टाढा टाढा सम्म पुग्थे पछि घिमिरेकै सक्रियतामा इटहरीका कलेज सन्चालकहरुबिच बैठक बसेर पत्रपत्रिकामा विज्ञापन गर्ने तर अस्वस्वथ्य प्रतिस्पर्धा घटाउने पर्चा पम्प्लेट नटाँस्ने भनेर एउटा समितिनै बनेर सहमति गरेको थियो । पछि उच्च माध्यामिक विद्यालयहरुको छाता संगठन हिसान आएपछि त्यो समिति निस्कृय बन्यो तर अहिले पनि खासै अस्वस्थ प्रतिस्पर्धाको वातावरण छैन् ।

भौतिकवाद छाडेर आध्यात्मिक चिन्तनमा

पिण्डेश्वर विद्यापिठको पढाई अनि वामपन्र्थी बिचारधारासँग जोडिएपछि भौतिकवादमा लागेका घिमिरे अहिले पुनः आध्यात्मिक चिन्तनमै सक्रिय छन् । लामा सेताम्मे दारी तर काँधमा अथाह जिम्मेवारी, अध्ययन, चिन्तन, योग ध्यान घिमिरेको अहिलेको जिवनशैली हो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका पुर्व केन्द्रिय सदस्य, बुद्धिजिवी परिषद सुनसरीका पुर्व अध्यक्ष तथा सल्लाहाकार, हिसान सुनसरीका संस्थापक अध्यक्ष तथा हाल हिसानका राष्ट्रिय सल्लाहाकार साथै नागरिक सरोकार मञ्च इटहरीको अध्यक्ष भइसकेका छन् । त्यती मात्रै होइन्, नेपाल अभिभावक संघ सुनसरीका अध्यक्ष, झमक घिमिरे साहित्य कला प्रतिष्ठान नेपाल धनकुटाका पुर्व उपाध्यक्ष , अच्छा राई रसिक साहित्य प्रतिष्ठान नेपाल इटहरीका अध्यक्ष , नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका आजीवन सदस्य एंव पुर्व सल्लाहाकार साथै ताप्लेजुङ्ग सुनसरी सरोकार समाजका सल्लाहाकार सदस्य र प्रश्रित प्रतिष्ठान कोसी पुर्व शाखाका उपाध्यक्ष समेत रहेका घिमिरे साहित्यका क्षेत्रमा ठुलो योगदान पुर्याएका व्यक्तित्व हुन् ।  । भाषा साहित्य र समाजसेवामा रुचि राख्ने घिमिरेलाई ३ दर्जनभन्दा बढि संघ सस्थाबाट सम्मान तथा पुरस्कार मिलेको छ । अहोरात्र खटेर सभ्य समाज निर्माणमा योगदान पुर्याउने यी धरोहरलाई लाख लाख सलाम छ ।