झापाः झापाको मेचीनगर नगरपालिका ५ पिपलडाँडा चौकको बाँझो खेतमा फाल्गुन २५ गते मृत फेला परेकी स्थानीय ६८ बर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फाल्गुन २५ गते बेलुकी ४ बजे घाँस काट्न गएकी कुवँर साँझ सम्म घर फर्की नआए पछि निजको श्रीमान् जगत कुवँरले खोजतलास गर्ने क्रममा घर देखि २०० मिटर टाढा रहेको बाँझो खेतमा राती पौने ८ बजे मृत अवस्थामा फेला पारेका थिए ।
घटना बारे प्रहरीलाई खवर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघिय प्रहरी ईकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन भई घटनाको अनुसन्धानको क्रममा मेचिनगर ५ का २७ बर्षीय रण बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

मृतक लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी स्वास्थ्य बिधिबिज्ञान प्रगोगशाला धरान सुनसरी पठाईएको छ । पक्राउ परेका बस्नेतको सम्मानित झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।