इटहरीः संखुवासभामा शङ्कास्पद एक चिनियाँ नागरिक पक्राउ परेका छन्। भोटखोला गाउँपालिका १ किमाथाङ्का नाकाबाट २८ वर्षीय झाऊ झेनझेन नाम गरेका व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनलाई शुक्रबार बिहान मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । अध्यागमन विभागको स्वीकृति बिना ति चिनियाँ नागरिक हिँडडुल गरेको आधारमा उनलाई नियन्त्रणमा लिएको डीएसपी सुवेदीले बताए । अध्यागमन विभागको स्वीकृति बिना विदेशी नागरिक वा पर्यटक यो संरक्षित क्षेत्रमा प्रवेश गर्न निषेध छ ।

मकालु बरुण राष्ट्रिय निकुन्जको केही क्षेत्रफल भोटखोला गाउँपालिकामा पर्छ । पक्राउ परेका चिनियाँ नागरिकसँग राहदानी समेत बरामद गरिएको छ । उनी ३ मार्चमा नेपाल आएका थिए । तर उनी बाइक मार्फत नेपाल भित्रिएको अध्यागमन विभागको रेकर्ड छ ।

‘हामीले उनलाई निषेधित क्षेत्रमा प्रवेश गरेको आधारमा पक्राउ गरेका हौ, उनी कसरी किन संखुवासभा आए भन्ने विषयमा अनुसन्धान गछौँ डीएसपी सुवेदीले भने,’अहिले उनलाई हेलिकप्टरमार्फत अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएका छौ ।’ ति नागरिकको घुँडामा चोट लागेको कारण हेलिकप्टरमार्फत काठमाडौँ पठाएको सुवेदीको भनाई छ ।पक्राउ परेका चिनियाँ नागरिक बन्यजन्तु चोरी सिकारीको लागी त्यहाँ पुगेको हुन सक्ने भन्ने प्रहरीको आशंका छ ।