उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । सोमबार बिहान ९ बजे आयोजित एक कार्यक्रम बीच त्रियुगा नगरपालिका १० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदघाटन गरेका हुन् ।

नवनिर्मित भवनहरुको उद्घाटन तथा निरिक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग र्पुयाउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

२४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । साथै सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध समेत गरे । कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा उल्लेखनिय योगदान र्पुयाउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।

275862938_330012185825953_7624553194713624559_n

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको हाता भित्र नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष गरी कुल ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादब, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक बिकासराज खनाल, श्री नं १८ बाहिनी अड्डाभुल्के ब्यारेकका बाहिनिपति सहायक रथी मधुकर सिंह कार्की, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि,स्थानिय बुद्धिजिवि, समाजसेवी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

275844367_330011862492652_8841061218795875881_n