इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले होली पर्व नजिँकिँदै गएको सन्दर्भमा चाडलाई भव्य र मर्यादित बनाउन सुनसरी जिल्लाबासीलाई आग्रह गरेको छ ।
सोमबार एक सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासनले होलीको शुभकामना समेत व्यक्त गरेको छ । जारी गरिएको सार्वजनिक सुचनामा चाडपर्व मनाउने नामका कसैको इच्छाविपरित रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, जिस्काउने तथा सार्वजनिक स्थलमा होहल्ला गर्ने कार्य नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
चर्को स्वरमा डिजे बजाउने देखि लिएर कुनै पनि व्यक्तिको नीजि जीवनमा असर पर्ने खालका अवाञ्छित क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड अपनाएरमात्रै पर्व मनाउन जिल्ला प्रशासनले अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीद्धारा जारी गरिएको सुचनामा अवाञ्छित गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही भै जाने समेत बताइएको छ ।
                    
        
        
                            
                                                            
        
















