इटहरीः संस्थागत निक्षेपको व्याजदर ६ प्रतिशत कायम गर्न साथै धारासायी बन्दै गएका उद्योग व्यवसायलाई संरक्षण गर्न माग गर्दै नेपाल राष्ट्र बैँक विराटनगर पुगेका उद्योगी व्यपारीमाथि अपमान गरिएको खवर बाहिर आएको छ ।

प्लेकार्ड सहित राष्ट्र बैँकमा धर्ना दिन पुगेका उद्योगी व्यपारीलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको व्यवसायीहरुले बताएका छन् । बिभिन्न माग सहित प्ले कार्ड बोकेर गएका मोरङ्ग व्यापार संघका पदाधिकारीहरुले आफ्नो रायसहित राष्ट्र बैँकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

मंगलबार मोरङ ब्यपार संघ ब्याजदरको विषयलाई लिएर नेपाल राष्ट्र बैंकमा धर्ना दिन पुगेको थियो । संघले नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा प्ले कार्ड सहित धर्ना दिएको हो ।

संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत बैंक व्याजदर कायम गराउनुपर्ने तरलता अभावको समस्या न्यूनिकरण गराउनु पर्ने , उद्योगी व्यवसायलाई एकल अंकको ब्याजदर कायम गर्नुपर्ने , उत्पादनमुलक उद्योगलाई बैंक ऋण सहज गरिनुपर्ने लगायतका माग राख्दै प्लेकार्डसहित राष्ट्र बैंक पुगेका उद्योगी व्यवसायीलाई अपमान गरिएको उनिहरुले बताएका छन् ।

उद्योगी व्यवसायीले स्वदेशी उद्योग संरक्षण गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न, स्वदेशी लगानी प्रोत्साहन गर्न, महंगी नियन्त्रण गर्न समेत माग गरेका छन् ।

मुलुकको आर्थिक मेरुदण्डको रुपमा चिनिएका निजी क्षेत्रका उद्योग/व्यवसायहरुले बढ्दो व्याजका कारण खेप्नु परेको मारको बिषयलाई लिएर उनिहरुले घोषणापत्र नै राष्ट्र बैंकलाई बुझाएका छन् ।

हाल विभिन्न कारणले पूँजी अभावको अवस्था श्रृजना भएबाट उद्योग÷व्यवसायहरु धरासायी हुने सम्भावना बढ्न गई मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्व सहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थितिको श्रृजना भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।