इटहरीः प्रदेश एकको मुटुमै पर्ने इटहरीमा रहेको प्रदेश एक सहकारी रजिष्ट्रार कार्यालयलाई इनरुवाको सहकारी प्रशिक्षालयमा समायोजन गर्ने प्रदेश एक सरकारको निर्णयले सहकारीकर्मीलाई दुखित बनाएको पाइएको छ ।

सहकारी कार्यालयको प्रदेश कार्यालय मर्ज गरेर इनरुवामा राख्ने भएपछि प्रदेशका धेरै सहकारीकर्मीहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले इटहरी धेरै हिसावले प्रदेश एकको केन्द्र भएको हुनाले प्रदेश सहकारीको रजिष्टार कार्यलय इटहरीमै स्थापना हुनुपर्ने सहकारीकमीहरुको माग छ ।

खर्च कटौती गर्नभन्दै प्रदेश सरकारले यस्तो निर्णय गरेपछि केन्द्रिय सहकारी महासंघका संचालक शिव डाँगी, अमृता सुव्वा सहितका सहकारी कर्मीहरुले प्रदेश सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीलाई समेत भेटेर असन्तुष्टि जनाएका थिए । गत शुक्रबार उनिहरुले प्रदेशका अर्थमन्त्री इन्द्र बहादुर आङ्गवालाई भेटेर इटहरीमा हुँदा सबैलाई सहज हुने भएकोले इटहरीमै स्थापना गर्न आग्रह गरेका थिए ।

डेलिगेशनमा जिल्ला सहकारी संघका सचिव गंगा दाहाल र सदस्य मुना तिम्सिना र जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीसहितको टोलीले अर्थमन्त्रीलाई भेटेको थियो ।

डेलिगेशनमा गएका केन्द्रिय सहकारी महासंघका संचालक शिव डाँगीले अर्थमन्त्री संयोजक र अन्य मन्त्री सदस्य रहनेगरीको एउटा समिति बनेको र सो समितिले कार्यलयहरु समायोजनको बारेमा पुनअध्यन गरेर टुगोँ लगाउने जानकारी आफुहरुले पाएको बताए ।

भेटका क्रममा अर्थमन्त्री सकारात्मक देखिएको डाँगीले प्रदेश पोर्टललाई बताए । “सेवाग्राहिको हिसावले इटहरी नै प्रदेश सहकारी राख्नको लागी ठिक छ बरु उताको सहकारी प्रशिक्षण केन्द्रलाई यता ल्याउँ भन्ने कुरा हामीले राख्यौँ मन्त्री ज्यु त्यसमा सकारात्मक हुनुहुन्छ ।” डागीँले भने ।

सेवाग्राही कार्यलय मध्येकै बढि भिडभाड हुने प्रदेश सहकारीमा ९ हजार सहकारीमा मध्ये १ हजार सहकारीहरु प्रदेश स्तरीय रहेको र त्यसमा पनि कम्तीमा एउटा सहकारीमा १५ जना संचालक समितिका सदस्यका दरले हिसाव गर्दा १५ हजार सेवाग्राहीको भिड हुने प्रदेश सहकारी कार्यलय इटहरीमै हुनुपर्ने डाँगीले बताए ।

इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कुमार निरौलाले प्रदेश सहकारीलाई इटहरीबाट सार्नु गलतकाम भएको टिप्पणी गरेका छन् । प्रदेश पोर्टलसँगको कुराकानीमा निरौलाले हरेक क्षेत्रबाट इटहरीलाई ठगिएको बताए ।“न त राम्रो अस्पताल छ ? एउटा प्रदेश स्तरीय सहकारी भएकोमा त्यो पनि लगिरहेका छन् । मानव बस्ती बढेसँगै इटहरीमा नापी, मालपोत जस्ता कार्यलयको आवश्यकता भएता पनि राजनितिक नेतृत्वले कुरा बुझेको छैन ।” निरौलाले भने ।

यता इटहरीकै सरस्वती कृषि सहकारी संस्थाका व्यवस्थापक अनिल अधिकारीले पनि प्रदेश स्तरीय सहकारीको कार्यलय इटहरीमै हुनुपर्ने आवाज उठाएका छन् । प्रदेश भरीका सबै सहकारीलाई सहज हुने ठाउँ इटहरी भएको हुनाले इनरुवा लैजाने कुरा मान्य नभएको अधिकारीको भनाई छ ।

इटहरीमै रहेको पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश भट्टराईले पनि सहकारी रजिष्टारको कार्यलय इनरुवा लैजाने प्रदेश सरकारको निणयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैगरी धनकुटाकी सहकारीकर्मी रुकु कार्कीले पनि प्रदेश एकको केन्द्र इनरुवा नभई इटहरी नै भएकाले सहकारी रजिष्टारको कार्यलयलाई सहकारी प्रशिक्षणसँग समायोजन गरेर इनरुवा लैजानु उपयुक्त नभएको बताएकी छिन् ।
प्रदेश एकका अर्का सहकारीकर्मी सुनिल सुवेदीले सहकारी रजिष्टारको कार्यलयलाई स्थानान्तरण गर्ने सरकारको जनतालाई दुख दिने काम भएको टिप्पणी गरेका छन् ।

भागबण्डा मिलाउन भन्दै प्रदेश एक सरकारले गत महिनाको मन्त्रिपरिषद् स्तरीय निर्णयबाट कर्मचारी व्यवस्थापन गर्न प्रदेश १ सरकारले यसअघिको यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रलाई स्वास्थ्य निर्देशनालय, इटहरीस्थित सहकारी रजिष्ट्रार कार्यालयलाई सहकारी प्रशिक्षालय इनरुवा र सुरुङ्गास्थित माटो तथा मल परीक्षण प्रयोगशालालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गर्ने निर्णय गरेको थियो ।

इटहरीको रेशम प्रसोधन केन्द्रसँगै रहेको सहकारी रजिष्ट्रार कार्यलयलाई सहकारी प्रशिक्षालय इनरुवामा लैजादाँ कम कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने भन्दै प्रदेश सरकारले एकै प्रकृतिको का मगर्ने कार्यालयलाई एकै ठाउमा राख्न यस्तो निर्णय गरेको थियो । हाल प्रदेश सहकारी रजिष्टार रहेको इटहरीको रेशम प्रशोधन कार्यक्रम, धनकुटाको रेशम विकास कार्यक्रम, इलामको वागवानी केन्द्र जौवारी र सोलुखुम्बुको वागवानी केन्द्र फाप्लु पनि अब जिल्लास्थित सम्बन्धित कृषि ज्ञान केन्द्रमै गाँभिने गरी प्रदेश सरकारले निर्णय गरेको थियो ।