इटहरीः नेपाल सरकारलाई पैसा आवश्यक पर्दा जोहो गरिदिने जिम्मा लिएको नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८३ क का लागि बोलपत्र आव्हान गरेको छ ।

सरकारलाई आवश्यक पर्ने खर्च नागरिकबाट जोहो गर्ने व्यवस्था अनुरुप सरकारले नागरिक बचतपत्र बिक्रि खुल्ला गरेको हो । बचतपत्रमा निश्चित व्याजमा निश्चित समयसम्म आफुसँग भएको बचत लगानी गर्न सकिन्छ भने त्यसको प्रमाणपत्र नीजि बैँक तथा बित्तीय संस्थामा राखेर कर्जा समेत निकाल्न सकिन्छ ।

राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो।

बचतपत्रमा चैत १ गतेदेखि चैत २० गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । जसको निष्काशन चैत ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८३ चैत ३० गते हुने छ भने व्याज भने हरेक ६ महिनामा आफुले तोकेको बैँक तथा वित्तीय संस्थाहरु बजार निर्माता तथा काठमाण्डौ बाहिरका नेपाल राष्ट्र बैँकका शाखा कार्यालयबाट समेत पाउन सकिने बताइएको छ ।

बचतपत्र खरिद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइन्छ । नेपाली नागरिकले मात्रै खरिद गर्न पाइने हुनाले उक्त बचतपत्रलाई नागरिक बचतपत्र भनेर भनिनेगरेको छ ।