इटहरीः विवस बिष्ट एउटा विवस व्यक्तिको नाम हो भन्दा अतियुक्ति नहोला । जो आफुलाई र आफ्नो पढाइलाई योग्य अवसरको खोजी गर्दै खाडी मुलुक पुग्न विवस भए । यसरी विवस हुने उनि एक्ला भने होइनन् लाखौँ विवसहरु आज खाडी मुलुक मलेसिया र युरोप अमेरिकामा छन् । देश उन्नत हुने थियो भने उनिहरु यही अवसरहरु खोजिरहन्थे । युरोप अमेरिका जानेका त नकुरा गरौँ उनिहरु देश सम्झिएर यदाकदा बाहेक फर्किँदैनन् । पिआर पाएपछि देश विर्सिन्छन् तर खाडी मुलुकमा जानेहरु त्यहाँ खुन पसिना बगाउँछन् अनि कमाएको सानो अंश देशमै खन्याछन् । ती नै नेपाली मध्ये पर्छन् इटहरीका विवस जसले एक दशक खाडी मुलुक कतारमा कमाएको श्रमलाई देशमै लगानी गरेका छन् त्यो पनि आफुले सिकेको सीपमा ।

विवस पेष्ट्रि तथा बेकरी सम्बन्धिको काममा १० बर्ष कतारमा थिए र साथमै थिइन विवसकी जिवनसँगिनी मनु बिष्ट पनि । कतारबाट छुट्टिमा देश फर्किएको बेला विवसले विवाह गरे । विवाह पछि जिवन सँगिनीलाई पनि उतै लगे खाडीमा, र संगै संघर्ष गरेका रहेछन् जिवनका आरोह र अवरोहका केहि बर्षहरु । रामधुनी नगरपालिका झुम्काको रामधुनी बोर्डिङ्ग स्कुलबाट एसएलसि र महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसबाट मार्केटिङ्ग बिषयमा स्नातक सकाएका विवसले खाडी मुलुक नै जान किन रहर गरेछन् त हामीले प्रशंगबस प्रश्न गर्यौँ । हाम्रो प्रश्नमा उनि मुस्कुराए मात्रै । हुन त अवसर नदेखेर पनि हुन सक्छ फेरी क्षमताको कुरा पनि त आउँछ नि, तर विवस क्षमता नभएका भने होइनन् । सेल्स एण्ड मार्केटिङ्ग अर्थात बजारीकरण सम्बन्धिको अध्ययन, आफ्नो अध्ययन अनुरुपकै डिमाण्ड र राम्रो तलव हुने अवसर आएपछि खाडि हाँकिएको विवसले बताए ।

राम्रो डिमाण्ड भएको जागिर , आकर्षक तलव र जिवन संगिनी पनि साथमै भएकाले विवसलाई खाडीमा एक दशक सकाउन कुनै गाह्रो भएनछ । फेरी मान्छेलाई सँधै सहज कहिले पो हुन्छ र कोरोना नामको भाइरसले संसारलाई सखाप पारेको छ । त्यो भाइरसको सिकार विवस पनि बनेका रहेछन् तर सबै कुरालाई एउटा संयोग अनि अवसरको पनि खाँचो पर्छ । कारोनाको पहिलो आधीँ विवसको लागि अवसर बनेर आएको रहेछ आफ्नै व्यवसाय सुरुवात गर्ने ।

लामो लकडाउनलाई सदुपयोग गर्दे विवसले आफ्नो सीपलाई लगानी गरेर व्यवसायीक रुप दिने जमर्को कसे । जतिवेला कोरोनाको भय जताततै थियो त्यसैबेला विवस उर्जाका साथ सप्लायरहरु खोज्न र आफ्नो वरपरका केहि बेकरी उद्योगहरुमा सल्लाह लिन दौडँदै थिए ।मनभरी सपना र उत्साह बोकेको युवालाई हौसला दिनेभन्दा हुदैन, सक्दैनौ, अथवा बजार नै छैन भनेर बहकाउनेहरु बढी थिए । विवस भन्छन् “राम्रोसँग गर्यो भने चल्छ भने थियो अरुले इन्करेज नगरेपनि गर्न सक्छु भन्ने आँटले सुरु गरेँ । ” विवसको केक एण्ड बेक हाउस इटहरी उपमहानगरपालिका १७ कान्छिचोकमा छ । उत्पादन गर्ने बनाउने काम उनि आफ्नै घरमा गर्छन अनि इटहरी १७ कान्छिचोकमा रहेको एउटा सोरुमबाट बिक्रि गर्ने गरेका छन् ।

275078791_506670874319209_182477700183744558_n

युवा जोशका साथ निर्माण भएको केक एण्ड बेक हाउसले केकमात्रै बेच्दैन केक सँगै माया र स्नेह पनि बाँड्छन् । उनले बनाएको केकलाई पार्टी, उत्सवहरुमा महत्वका साथ लिइन्छ र उत्सव पार्टीहरु हर्षोल्लासका साथ सम्पन्न हुन्छन् ।पहिला पहिला जन्मदिनमा मात्रै केकको प्रयोग गर्ने हाम्रो समाज आज जस्तो सुकै अबसरको लागि पनि केकलाई अगाडी ल्याँउछ । अचेल जन्मोत्सवमा केक,विहेमा केक, कसैको बेबि सावर हुन लाग्यो केक, इन्गेजमेन्टमा केक,कसैको प्रमोसन भयो भने पनि केक । फेसन यस्तो बनेको छ केकको बजार, मृत्यु बाहेकका सबै अवसरमा चल्छ त्यसैले पनि विवसको सपना पक्कै साकार हुदैछ ।

कुनै अवसरका विवसको सोरुममा केक किन्न आउने ग्राहकले एउटा केक नै मात्र किन्दैनन् अवसरको लागि चाहिने बेलुन, झिल्झिले, शुभ जन्मदिन लेखिएका टोपी लगायतका सामान पनि किन्छन् त्यसैलाई मध्येनजर गर्दै विवसले आफ्नो सोरुपमा सबै सामान राखेका छन् ।

विवसले केक एण्ड बेक हाउस खोलेको एक बर्ष भन्दा अलिक बढि भयो, अहिले सम्म पहिलो चोटि आउने भन्दा दोहोर्याएर आउने ग्राहक धेरै छन् । सेल्स अर्थात विक्रि पनि राम्रै रहेछ । महिनाको सरदर ४ लाख रुपैयाँ बराबरको केक विक्रि गर्ने गरेको विवस बताउँछन् । इटहरीको कान्छिचोकमा बनेको केक, बक्लौरी, कालाबन्जर, झुम्का, इटहरी, देखि उदयपुरको बेलका लगायतका ठाउँमा जाने गर्छ ।

आफ्नो उत्पादनलाई धेरै जसो रिसेलरहरुले लगेर सानो मार्जिनमा बेच्ने गरेको विवसले हामीलाई सुनाए । सम्भावना निकै देखेर पनि विवसले केक एण्ड बेक हाउसमा सुरुवाति लगानी लगभग १७ लाख जति गरेका रहेछन् । बेकरीका अन्य सामान पनि बनाउन सक्ने भएता पनि आफुले केकलाई मात्रै बढि फोकस गरेको उनले सुनाए । केक निर्माण गर्नु एउटा कला पनि हो । यसको डिजाइन र निर्माणमा विवसकी जीवनसँगिनी खट्ने रहिछन् , साथ दिन उनले २ जनालाई रोजगारी पनि दिएका छन् । कुनै समय खाडीमा अर्काको खटनमा काम गर्ने यो जोडी आज रोजगारदाता बनेको छ त्यो पनि आफ्नै देशमा सानै भएपनि उत्पादनको काम गर्नु राज्यलाई कर तिर्नु र बेरोजगारलाई रोजगार सृजना गरेर रोजगारदाता बन्नु चानचुने कुरा होइन् ।

अर्डर अनुसारको केक बनाउने विवसले रेगुलरमा १ पाउँण्ड २ पाउण्डको केक बनाउँछन् तर अर्डर आएको खण्डमा आफुले ७ देखि ८ पाउण्ड सम्मको केक बनाएका छन् । अर्डर गरेका ग्राहकहरुका लागि ग्राहकको आवश्यकता अनुसार होम डेलिभरी पनि गर्ने गरेको विवस बताउँछन् । आफुसँग भेनिला,चकलेट, ब्लाक फरेस्ट,ह्वाइट फरेस्ट, रेड मेल्वेट, पाइनापल, स्टेवरी लगायत नामका केकहरु उपलव्ध रहेको विवसले बताए । “बजारमा केकहरु त धेरैले बेच्छन् तर गुणस्तर बेच्न सकेका छैनन् म केक मात्रै बेच्दिन गुणस्तर पनि बेच्छु त्यसैले मसँग रिपिटेड ग्राहक धेरै हुन्छन् विवस भन्दै थिए ।” खाडीको अनुभवलाई देशमै लगाएका विवस उमेरले ३६ बर्षका रहेछन् । विवसको अवको योजना भनेको आएको आम्दानीलाई पनि विजनेशमै लगाएर यसैलाई ठुलो आकार दिँदै लग्ने रहेछ । देशमै सम्भावनाको खोजी गर्नुपर्छ भन्ने भावना राख्ने युवाले सुरु गरेको केक एण्ड बेक हाउसले सफलताको चुली पाओस हामीले शुभकामना दियौँ ।